सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ ।
शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।
यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।
कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा छ । पछिल्लो समय आवेदकहरुको सङ्ख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता पनि धेरै कमले मात्रै पाउँछन् । त्यसैले १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ ।