दवाब र प्रभावमा नपरी सेवा प्रवाह अहिलेको आवश्यकता: मुख्यमन्त्री

पोखरा, असोज ३०, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।

नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको बताउदै नेपाल प्रहरीले विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रहेको बताउनुभयो । उहाँले प्रहरीले व्यवसायीक मर्यादाका साथ कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत कानून बिपरितका कार्यमा कुनै दबाब र प्रलोभनमा नपरी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मार्मिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सहिदहरुले देखाएका सपनालाई साकार पार्न र गरेको योगदानलाई स्मरण गरी सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नुपर्ने जोड दिनुभयो ।गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउधन र अधिकारको रक्षा गर्ने आफ्नो मुलभुत दायित्वलाई आत्मसाथ गर्दै राष्ट्र सामु आईपरेका गम्भीर चुनौती एंव संकटको घडीमा अविचलित रहि कार्यसम्पादन गर्दै आईरहेको बताउदै विश्वव्यापी रुपमा रहेको कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई, उच्च मनोबलका साथ अत्यन्त व्यवसायिक ढँगले प्रस्तुत भई, नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखि प्रहरी सेवा प्रवाह गर्न हरप्रहर कटिबद्ध रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...