पोखराको खपौदिमा किसान बजार सञ्चालन

कृषि उत्पादनमा प्रेरणा र उपभोक्तालाई सस्तो खरिद गर्ने वातावरण बनाउन बजार ः प्रमुख जिसी

पोखरा, असोज १६ गते ।किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी पोखराको खपौदिमा शुक्रबारदेखि किसान बजार सञ्चालनमा आएको छ। किसानले उत्पादन गर्दा लागेको मिहिनेत अनुसार उचित मूल्य पाउन र उपभोक्ताले पनि किसानबाट सोझै खरिद गर्दा सस्तो मूल्यमा बस्तु पाउने गरी पोखरा–१८ खपौदिमा किसान बजार सञ्चालनमा आएको हो ।

बजारको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुक्रबार उद्घाटन गर्नुभयो । उहाँले किसानले उचित मूल्य पाउन् र उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरणा दिन र उपभोक्तालाई एक दुई पैसा भए पनि सस्तो र विषादीमुक्त गर्ने वातावरण बनाउने उद्देश्यले किसान बजार स्थापना गरिएको महानगर प्रमुख जीसीको भनाई थियो ।

‘किसानबाट सस्तोमा जाने र महङगोमा बेच्ने अवस्थाको अन्त्यका लागि किसानबाटै उपभोक्ताले किन्ने अवस्था सृजनाहोस भनेर बजार सञ्चालन गरेका हौ ।’पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा भवन र स्टल बनाइ बजार सञ्चालनमा ल्याएको हो । महानगरको ६ लाख रुपैयाँमा बजार सञ्चालनमा ल्याइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

किसान बजारमा किसान आफैंले उत्पादन गरेका बस्तु तरकारी, खाद्यान्न, दुग्धजन्य बस्तु, माछा, खसी, बोका लगायत स्थानीयले उत्पादन गरेका सामग्री बिक्री वितरणमा राख्न सक्ने व्यवस्था गरिएको छ । किसानले उत्पादन गरेका बस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था महानगरपालिकाले गर्ने पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

महानगरपालिकाले डिजिटल तराजुलगायत बस्तु बिक्री गर्दा आवश्यक पर्ने सबै सामग्री महानगरपालिकाले नै व्यवस्था गरेको बताउनुभयो । पोखरा महानगरपालिकाका तीन वडाका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु विक्री वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । पोखरा महानगर १८, २४ र २३ का किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु त्यहाँ राखेर बेच्न सकिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...