पोखरा, पुस २८ गते । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ ।‘सहजतामा हैन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव वालवालिका माझ’ भन्ने मुल नाराका साथ संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा २०५५ सालमा स्थापना भएका ६ वटा सदस्य विद्यालयलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयमा कास्की मोडनाइज्ड एकेडेमी, रत्नज्योति मावि, फेवा वोर्डिङ स्कूल, चिल्ड्रेन्स एकेडेमी, राइजिङ स्टार एकेडेमी, साइनिङ स्टार वोर्डिङ स्कूल रहेका छन् । ती विद्यालयका संस्थापकलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यसैगरी सामाजिकदायित्व अन्तर्गत राष्ट्रिय आविश्कार केन्द्रलाई एन प्याव्सन कास्कीले १ लाख १ हजार १ सय ११ रुपैया डा.महावीर पुनलाई हस्तान्तरण गरेको एन प्याव्सन कास्कीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवदत्त तिवारीले जानकारी दिए ।
सोहि अवसरमा पोखरा महानगर पालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि १० हजार मास्क हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले सरकारले संस्थागत विद्यालयलाई कहिल्यै पनि समस्यामा पार्न नखोजेको बताए ।
‘सरकारले गर्ने काम संस्थागत विद्यालयले गरेको छ । यसकारण पनि सरकार संस्थागत विद्यालयप्रति कहिल्यै पूर्वाग्रही हुदैन’ उनले भने,‘ निति नियम बनाउदा प्रयाप्त परामर्श नभएर कमी कमजोरी भयोहोला यसलाई सुधार्दै लैजानु पर्दछ ।’
उनले महामारीको पहिलो प्रभाव वालावलिकामा पर्ने भएकोले यसको असर विद्यालयलाई पर्नेे बताए । उनले वालावालिकाले जति सिक्छन् सिकाइका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरे ।कार्यक्रममा बोल्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले संस्थागत विद्यालयको संरक्षणका लागि संस्था स्थापना भएको बताए ।
एन प्याव्सनका केन्द्रीय महासचिव सुभाष न्यौपानेले सरकारको अक्रमन्यताका कारण निजि विद्यालय धरासायी वनेको उल्लेख गरे ।पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरमा सामुदायिक विद्यालय भन्दा निजि विद्यालयमा विद्यार्थी वढी भएकोले महानगरको वोझ निजि विद्यालयले लिएको उल्लेख गरे ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए