मुख्यमन्त्री कप भलिबलमा १० टीमले प्रतिस्पर्धा गर्ने

पोखरा, फागुन ३ गते । पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आयोजना हुदैछ । फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक कास्की जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि हुने अध्यक्ष पराजुलीले बताउनुभयो । मनाङका खेलाडी चिसोका कारण अन्य क्षेत्र झरेकाले खेलाडी छनौट गर्न नसक्दा सहभागि हुन नसकेको उहाँको भनाई छ ।

 

गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको उहाँले बताउनुभयो । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उहाँको भनाई छ ।

 

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।

 

प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिने भएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...