महिलाहरुको सीप र क्षमतालाई उत्पादनसंग जोडनुपर्छ ः गुरुङ

पोखरा, फागुन ४ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुको सीप र क्षमतालाई उत्पादनसंग जोडदै आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको छ ।

हाम्रो रचनात्मक गार्मेन्टको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन गदै उहाँले महिलाहरुसंग भएको सीप र क्षमतालाई उत्पादनसंग जोडदै आर्थिक रुपमा सवल र सक्षम बनाउन पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले सबैको श्रम र सीपलाई सम्मान गर्नुपर्ने बताउदै महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउनुभयो । उहाँले रचनात्मक गार्मेन्टले महिलाहरुलाई रोजगारी र आत्मनिर्भर बनाउन भुमिका खेलेको बताउनुभयो । उहाँले पोखरा महानगरले आर्थिक विकासको योजना र रणनीति बनाइरहेको बताउनुभयो । कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्य अञ्जु क्षेत्रीले महिलाहरु उत्पादनसंग जोडिनुपर्नेमा जोड दिदै वडा कार्यालयको आर्थिक सहयोगमा गार्मेन्ट सञ्चालन गरेर महिला दिदिबहिनीहरुलाई उद्यमी र रोजगार बनाउने प्रयास गरेको बताउनुभयो ।

उहाँले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका बेला नेपालमा मास्कको अभाव भएको र गार्मेन्टबाट मास्क उत्पादन गरेर विभिन्न जिल्लामा पु¥याएको बताउनुभयो । उहाँले पोखराका हस्पिटलमा पिपिई नभएर उपचार गर्न अप्ठयारो परेको बेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुको परामर्शमा पिपिई उत्पादन गरेको समेत क्षेत्रीले जानकारी दिनुभयो ।

हाम्रो रचनात्मक गार्मेन्टका अध्यक्ष राधिका आचार्यले वडा कार्यालयको दुई लाख र ३२ जना दिदिबहिनीहरुले प्रति ब्यक्ति पाँच हजार रुपैयाँ संकलन गरेर गार्मेन्ट सञ्चालन गरेको जानकारी दिनुभयो । ५ लाख २१ ह्जार लगानी गरेको र दुई वर्षमा १ लाख ८२ हजार नाफा भएको जानकारी दिनुभयो ।

यसैवीच कार्यक्रममा गार्मेन्ट स्थापनामा महत्वपूर्ण भुमिका खेलेको भन्दै वडा सदस्य एवं गार्मेन्टका संरक्षक अञ्जु केसीलाई सम्मान गरिएको थियो । त्यस्तै गार्मेन्ट स्थापनादेखि सहयोग गरेको भन्दै मिना मल्ल, विमला आचार्य, सोनिला कार्की, अञ्जली खत्रीलाई सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मानित सबैलाई उपप्रमुख गुरुङ, वडा अध्यक्ष धनबहादुर नेपाली र गार्मेन्टका अध्यक्ष राधिका आचार्यले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...