पोखरा, फागुन १४ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) केपी ओली समुह निकटको अखिल नेपाल महिला संघ गण्डकी प्रदेश समितिले संगठन निर्माणलाई तिव्र बनाउने भएको छ । संघ गण्डकी प्रदेशको शुक्रबार सम्पन्न बैठकले वडादेखि जिल्ला भेला र अधिवेशन गर्ने निर्णय समेत गरेको छ । अखिल नेपाल महिला संघ गण्डकी प्रदेशका संयोजक टुका हमालको अध्यक्षतामा पोखरामा बसेको बैठकले वडा, जिल्ला भेला आयोजना गर्ने मिति र विभिन्न विभागका संयोजक चयन गरेको छ ।
बैठकले वडा, गाँउ नगरका भेला, प्रशिक्षण र सम्मेलन २०७८ बैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ भने जिल्ला भेला, सम्मेलन आयोजक समिति २०७७ चैत मसान्तभित्र गठन गर्नुपर्ने निर्णय गरेको प्रदेश सहसंयोजक तारामाया थापा मगरले जानकारी दिनुभयो । त्यस्तै बैठकले गण्डकी प्रदेश समितिमा विभिन्न विभागको जिम्मेवारी बाँटफाट गरेको छ ।
जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी प्रदेश सचिव सीता सुन्दासलाई दिइएको छ । संगठन विभागको सदस्यका रुपमा प्रदेशका ११ जिल्लाका अनेमसंघका अध्यक्षहरु रहने निर्णय गरेको छ । यता आर्थिक विभाग संयोजकमा अनेसंघ प्रदेशका सहसंयोजक तारामाया थापा मगरलाई जिम्मेवारी दिइएको छ भने प्रचार प्रसार विभागको संयोजक प्रदेश कार्यालयका सचिव सम्झना देवकोटालाई दिइएको अनेमसंघ गण्डकीले जनाएको छ ।