काठमाडौँ, जेठ ७ गते । कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्रमा आबद्ध ६५ प्रतिशत कर्मचारी तथा मजदुर बेरोजगार भएका छन् । रोजगारीमै रहेका मजदुरमध्ये २२ प्रतिशतले कोरोना सङ्क्रमणअघि प्राप्त गर्नेभन्दा कम तलब पाएको पाइएको छ ।नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको नेतृत्वमा काठमाडौँ लिभिङ ल्याब्सले गरेको सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण पर्यटनमा आबद्ध मजदुरको अवस्था कमजोर बनेको देखाएको हो ।
सर्वेक्षणका अनुसार महामारीयता मजदुरको बचतको स्थिति लगभग शून्यमा पुगेको छ । अध्ययनमा सहभागीमध्ये केवल ३.४ प्रतिशतले मात्र आफ्नो बचतको स्थिति समान रहेको प्रतिक्रिया दिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रोजगारी गुमाएकामध्ये २४ प्रतिशतले आफ्नो व्यक्तिगत तथा घरायसी सामग्री बिक्री गर्नुपरेको जनाएका छन् ।
त्यस्तै ८ प्रतिशतले जीविकोपार्जनका लागि व्यावसायिक प्रयोजनका सामग्री बिक्री गरेको सर्वेक्षणमा प्राप्त भएको छ । ७ प्रतिशतले पनि घरघडेरीजस्ता अचल सम्पत्ति नै बिक्री गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।
कुल बेरोजगारमध्ये ८८ प्रतिशतले नगद सापटी लिएको पाइएको छ । धेरैले साथीभाइ तथा परिवारबाट यस्तो सापटी लिएकामा ८ प्रतिशतले बैङ्क तथा वित्तीय संस्थाबाटै ऋण लिनुपर्ने अवस्था आएको जनाएका छन् । बेरोजगारमध्ये ९२ प्रतिशत पहिले नै ऋण लिइसकेको अवस्थामा थिए ।