पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्व ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्व ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरिएको छ । पूरा बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्व १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ । प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पुर्ति गरिने अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । गण्डकी प्रदेश सभामा गत वर्षको भन्दा ४ अर्ब सानो बजेट प्रस्तुत गरिएको छ । जसमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरे । कोभिड १९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताउनुभयो । गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोषण कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उहाँले बताउनुभयो । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको सघन उपचार कक्ष स्थापना हुने पोखरेलले बताउनुभयो । सबै जिल्ला अस्पतालमा आँखा, डायलाइसिस र ज्येष्ठ नागरिक वार्ड बनाउन बजेट विनियोजन गरिएको बताउनुभयो ।
नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने बजेटमा उल्लेख गरिएको छ । गोरखाको आँपपिपल अस्पताललाई ५० शैयाको बनाइने तथा गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल, ५० शैयाको मुटु रोग, ५० शैयाको अर्बुद र ५० शैयाको मिगौला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
प्रदेश सरकारले लौहादी फलाम खानीमा लगानी गर्ने भएको छ । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गर्नुभएको हो । यस्तै नेपाल सरकारसँगको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा आद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरिएको पोखरेलले बताउनुभयो ।प्राकृतिक स्रोत तथा ढुंगाा, गिट्टि, बालुवा उत्खननलाई नियमन गरिने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
नेपाल सरकारसँगको समन्वयमा बागलुङको व्युँबाट गल्कोटसम्म सुरुङ मार्ग र अर्नाकोट विमानास्थलको सम्भाव्यता अध्ययन गरिने पोखरेलले बताउनुभयो । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गर्नुभएको छ । त्यस्तै पोखरा महानगरसँगको समन्वयमा प्रदेश स्तरी बसपार्क निर्माण प्रारम्भ गरिने र त्यसकालागि बजेटको व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
वित्तिय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिएको छ । एकल कर प्रशासन मार्फत संकलन हुने स्थानीय तहलाई राजश्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।