पोखरा ३३ का बाख्रापालक किसानलाई अनुदान वितरण

झोले किसानका कारण बास्तविक किसानले अनुदान नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ : काबा प्रमुख गुरुङ

पोखरा, साउन १२ गते । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । पोखरा ३३ का किसानलाई अनुदान वितरण गरेको हो । साना व्यवसायिक कृषि उत्पादन के्रन्द्र बाख्र पकेट अन्र्तगत अनुदान वितरण गरिएको हो । भरतपोखरी बाख्रापालक समितिको समन्वयमा मंगलबार अनुदान वितरण गरिएको हो ।

पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यालय कास्कीका प्रमुख अनिल अधिकारी, महानगर कृषि तथा पशु सेवा महाशाखा प्रमुख मनहर कडरियाले किसानलाई अनुदान वितरण गर्नुभयो । ५० जना बाख्रापालक किसानलाई जनही २० हजारका दरले १० लाख रुपैयाँ वितरण गरिएको हो । त्यस्तै पाँच वटा समुहलाई पाँच वटा बोयर बोक समेत वितरण गरिएको छ ।


महानगरका कार्यबाहक प्रमुख गुरुङले महानगरलाई कृषिमा आत्मनिर्भर बनाउदै व्यवसायीक र आधुनिकिरण गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको बताउनभुयो । उहाँले निर्वाहमुखी नभई व्यवसायीक बन्न किसानलाई आग्रह गर्नुभयो । उहाँले झोले किसान र टाढाबाढाले अनुदान लैजाने र वास्तविक किसानले नपाउने अवस्था रहेको बताउदै अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीक रुपमा अगाडी बढे सफलता प्राप्त गर्न सकिने भएकाले अनुदानको उद्देश्य अनुरुप सदुपयोग गर्न आग्रह गर्नुभयो । महानगर कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले बाख्रा र खसीको मासुमा आत्मनिर्भर बन्दै गएको बताउदै बाख्राको मासु माग र मुल्य नघटेको बताउनुभयो । उहाँले किसानलाई विमा गर्न समेत आग्रह गर्नुभयो । विमा गरेपछि सुरक्षित हुन्छ । कृषकको लागत ग्यारेन्टि हुन्छ उहाँले भन्नुभयो, ‘त्यसले किसानलाई टिकाउन र आम्दानी दुवै हुन्छ ।’ उहाँले झोले किसानले अनुदान लाने गरेका कारण बास्तविक किसानको मन कुडिने गरेका कारण कार्यालयसम्म आउन नसकेको समेत बताउनुभयो ।


वडा नम्वर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले कृषिमा आकर्षण बढेको बताउदै गत वर्ष भन्दा बढि कृषकको संख्या बढेको बताउनुभयो । कृषिमा तत्काल सफलता प्राप्त नहुने बताउदै निरन्तर मेहनत गरेपछि मात्रै प्रतिफल प्राप्त हुने बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याएको उहाँको भनाई थियो । पोखरा ३३ मा करिव ८ सय बाख्रा रहेको महानगर पशु विकास शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । भरतपोखरी बाख्रापालन समिति समितिका अध्यक्ष बृद्धिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष चेतबहादुर महत र महानगर पशु विकास शाखाका प्रमुख नवराज अधिकारीले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...