पोखरा, माघ २३ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शिक्षामा गुणस्तरको लागि बिद्यालयहरुको मर्ज आवश्यक भएको बताउनु भएको छ । ९ औं राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा आइतबार पोखरा २३ हर्पनमा आयोजित शैक्षिक सामाग्रि वितरण कार्यक्रममा वोल्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारको लागि मर्ज आवश्यक भएको बताउनु भएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाले वसन्त पन्चमीको अवसरमा हर्पनको जनसिद्ध आधारभुत बिद्यालयमा आयोजित उक्त कार्यक्रममा वालबालिहरुलाई अक्षरआरम्भ गराउदै तथा शैक्षिक सामाग्रि समेत हस्तान्तरण गर्दै मन्त्री बरालले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको सङख्या कम भएकोले गर्दा पनि मर्जमा जानुपर्ने अबस्था रहेको उल्लेख गर्नु भएको हो ।
उहाँले भन्नु भयो “पहिला भुुगोल, प्रविधि, बाटो लगायतका कारणले गर्दा धेरै ठाँउमा बिद्यालयहरु स्थापना भएका थिए अब आवश्यकता र बिद्यार्थी सङख्याको आधारमा बिद्यालयहरुमा लगानी गर्नुपर्ने देखिन्छ । ” घर गाउँका टाठा वाठाहरु बजार केन्द्रित हुदै निजी बिद्यालयमा आफ्नो छोराछोरी पढाउने गरेको परिपार्टीको अन्त्य नै गर्नुपर्ने मन्त्री बरालको भनाई थियो ।
समाजका हुनेखानेहरुले बजार केन्द्रित हुँदा पनि गाँउ क्षेत्रको शिक्षासंगै भौतिक विकास एवं पूर्वाधार निर्माणमा गाउँहरु पछि परेको उहाँको दाबी थियो । फेवाताल संरक्षणको लागि हर्पन खोलालाई नियन्त्रणको लागि सिरान भाग देखि दृर्घकालिन योजनाका साथ अघि बढाउनु पर्ने मन्त्री बरालले बताउनु भयो ।
फेवाताल वरिपरि सिंसार क्षेत्रलाई जथभावी रुपमा पुर्नाले प्राकृतिक संकट निम्तिन सक्ने उहाँले दाबी गर्नु भयो ।महासंघका पूर्व अध्यक्ष एवं नेकपा (एकिकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले पुस्तक दिवस आफ्नो कार्यकालबाट सुरु भएको बताउदै पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
महासंघ कास्कीका अध्यक्ष बैकुण्ठ प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २३ का वडा सदस्य गिता भट्टराई, बिद्यालयका प्रध्यानाध्यापक लेखबहादुर क्षेत्री, बिद्यालयका पुर्व अध्यक्ष बाबुराम पौडेल, समाजसेवी हरि भण्डारी, क्यान कास्कीका पुर्व अध्यक्ष युवराज पौडेल लगायतले पोखरा २३ हर्पन क्षेत्रको विकासमा राज्यको ध्यान कम पुगेको गुनासो गर्नु भएको थियो । महासंघले बिद्यालयका ४८ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि तथा बिद्यालयलाई भने खेल सामाग्रि सहयोग हस्तान्तरण गरेको सचिव प्रकाश बाँस्तोलाले बताए ।