अभिभावकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड

काठमाडौँ, चैत १९ गते । सांसद तथा सरोकारवालाले विद्यालय शिक्षा विधेयक २०८० ले विद्यालय सञ्चालनमा अभिभावकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको दशौँ स्थापना दिवसका अवसरमा आयोजित ‘शिक्षा ऐनमा अभिभावक’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा अभिभावकको भूमिकाबारे चासो व्यक्त गरिएकोे हो ।

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले यो ऐन बनाउँदा अभिभावकको पनि सहभागिता हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बहसमा अभिभावकलाई छुटाएका छौँ । अभिभावकसँग सहकार्य गर्नुपर्छ । कतिपय ठाउँमा आवश्यकता भन्दाबढी विद्यालय छन् । अभिभावकसँग सहकार्य गरी सिकाइ केन्द्रको सञ्चालन गर्न सकिन्छ ।” उहाँले ढल बिग्रिँदा वा खानेपानीको समस्या आउँदा जसरी समुदाय एकजुट हुन्छन् त्यसैगरी सामुदायिक विद्यालय सुधारका लागि समुदाय एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले भन्नुभयो, “धेरै लामो समयपछि शिक्षा ऐन बन्दैछ । यो सबैले छलफल गर्नुपर्ने विषय हो । सायद हरेक घरमा अभिभावक, विद्यार्थी छन् र शिक्षक पनि प्रायःजसो सबै ठाउँमा छन् । यी तिनैको सहकार्यबाट कसरी विद्यालय व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन सकिन्छ त भन्ने महत्वपूर्ण छ । शिक्षामा राज्यको लगानी र अभिभावकत्व बढाउनु पर्नेछ ।”

 

पूर्व शिक्षामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसद देवेन्द्र पौडेलले विद्यालय शिक्षामा सुधार नभए कुनै पनि क्षेत्रमा सुधार आउने नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्र नै व्यवस्थित भएन भने केही पनि विकास हुँदैन । विद्यालय सूधार हुन शिक्षकको प्रतिबद्धता, सक्रियता, मेहनत आवश्यक छ । उहाँहरु त्यसैमा केन्द्रित हुनुपर्छ । अभिभावकहरुले पनि चासो लिनुपर्छ । पूर्वाधार प्राथमिकता पर्छन् तर शिक्षामा प्राथमिकतामा पुगेको छैन ।”

 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले शिक्षा केका लागि र कस्तो शिक्षा दिइरहेको छौँ भन्ने महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “के र कस्तो शिक्षा भन्ने विषयमा छलफल गरिनुपर्छ । आजको हाम्रो राष्ट्रको आवश्यकता के हो र राष्ट्रले मिसन के बनाउँछ त्यसमा शिक्षा जोड्नुपर्छ ।” उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ‘विद्यालयमा सांसद’ र ‘संसदमा विद्यार्थी’ भन्ने दुईवटा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक घण्टाजति शिक्षक अभिभावकसँग अन्तरक्रिया र अर्को एक घण्टा विद्यार्थीका कुरा सुनेर पढाइयो भने बढी मर्मबोध हुनेरहेछ ।”

 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले वास्तविक अभिभावक र छद्म अभिभावक कसरी चिन्नेमा समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको ऐन बनाउँदा स्थानीय तहमा कुन विद्यालयको कति स्रोतसाधन छ त्यसको पनि पहिचान गर्नुपर्छ र सङ्घीय सरकारले कति दिने भन्नेमा जानुपर्छ । नपढेको मान्छेले पनि व्यवस्थापन समितिमा बस्न सक्छ र आफ्नो दृष्टिकोण दिन सक्छ । विद्यालय व्यवस्थापनमा वास्तविक अभिभावकलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ ।”

 

शिक्षाविद् प्रा।केदारभक्त माथेमाले विद्यालय सुधारका लागि व्यवस्थापन समितिको अपनत्व हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय सञ्चालनमा अपनत्व हुनुपर्यो । समितिको सदस्यबीच एकता हुनुपर्छ । शिक्षक व्यवस्थापन राम्ररी हुनुपर्छ ।” प्रा।डा।पेशल खनालले विद्यालय सुधारका लागि अभिभावक, विद्यालय तथा शिक्षकको सहकार्य र विश्वास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वास्तविक अभिभावक बेखबर छन् । वास्तविक अभिभावकको प्रतिनिधित्व खोज्दै जाँदा सहभागिता उत्साहजनक छैन । पहुँचवालाको नै समूहको सहभागिता छ ।”

रासस

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...