पोखरामा बोलबम पदयात्रा हुने

पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ ।

‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ ।

शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए ।केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए । प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चारमाध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

 

कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए ।बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिने छ । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनायो । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...