समुदायमा संचालित सहकारी राम्रा : कार्की

पोखरा, भदौ ।पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न सूचक समग्रमा राम्रो रहेको भन्दै सहकारीको अझ प्रगतिको कामना गरे । उनले यसरी समुदाय र सम्पर्क समाज, अवकासप्राप्त कर्मचारीमा आधारित सहकारी राम्रोसँग चलेको बताए । उनले ऋण असुली समस्या सबै सहकारीको राष्ट्रिय समस्या हो भने । शेयर सदस्य सार्वभौम भएकोले नियमित रुपमा सहकारीमा आएर खबरदारी र निगरानी गर्न उनको सुझाव छ ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै गत आवसम्म सहकारीको कुल निक्षेप बढेको जानकारी दिए । गत आर्थिक वर्षमा १ करोड ५३ लाख ७२ हजार निक्षेप रहेकोमा अहिले बढेर १ करोड ९१ लाख ६७ हजार पुगेको बताए । सञ्चालक समितितर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति विवरण र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आयसहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीपेक्षण समिति संयोजक सुनिल अर्यालले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले पारित गरेको छ ।

 

कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, संस्थाका सल्लाहकार नारायणप्रसाद पौडेल लगायतले पाल्पाली समाजको गतिविधि एवं सहकारीबारे बोलेका थिए । सो अवसरमा उत्कृष्ट सेयर सदस्यको रुपमा तेजबहादुर थापा र कमलप्रसाद नेपाललाई सम्मान गरियो भने सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई पनि सम्मान गरियो ।

 

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति उपाध्यक्ष एवं कर्जा उपसमिति संयोजक बाबुराम खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन सचिव रेशमराज थापाले गरे । सहकारीका सात सिद्धान्त वाचन शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले गरे ।२०७६ असार १३ मा स्थापना भएको यो सहकारीमा हाल ५१० सदस्य छन् । तीमध्ये २६१ महिला हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...