पोखरा, असोज । जिल्ला वजार अनुगमन टोलीले स्थलगत अनुगमनका क्रममा वजारमा भेटिएका अखाध्य वस्तु र म्याद गुज्रेका सामानहरु नष्ट गरेको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीले जिल्लाको अन्नपुर्ण गाँउपालिकाको वडा नं ५ र ६ स्थित राजमार्गमा संचालित होटल÷रेष्टुरेन्ट एवं पसलहरुमा अनुगमन गर्दा करिव २० हजार वरावरको सामान नष्ट गरेको थियो ।
अनुगमनका क्रममा संचालनमा रहेका पसल दर्ता भए नभएको, उपभोग्य सामानको म्याद कायम रहे नरहेको, सामानको गुणस्तर कायम रहे वा नरहेको, मुल्य निर्धारण भए वा नभएको, नापतौलमा एकरुपता कायम भए वा नभएको जस्ता व्यवसायीले पालना गर्नुपर्ने नियम पालना गरे वा नगरेको, होटल रेष्टुरेण्टमा खाने तेलमा शुद्धता भए नभएको सम्वन्धमा परिक्षण गरिएको थियो । होटल÷ रेष्टुरेण्ट संचालकहरुले प्रयोग गर्ने तेलमा वढीमात्रामा कैफियत भेटिएपछि त्यस्तो तेल नष्ट गर्नुका साथै व्यवसाय संचालकहरुलाई सचेत गराएको थियो ।
अनुगमन टोलीमा पर्यटन तथा उद्योग कायर्यालय कास्कीका प्रमुख महराज ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका सविना सुनार, गुणस्तर तथा नाप तौल कार्यालयका रघुनाथ पौडेल, उपभोक्ता मञ्च कास्ककिा सचिव कमल पौडेल अथक, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सेना, प्रहरी उपरिक्षक वसन्तराज भुषाल, पर्यटन तथा उद्योग कार्यालय कास्कीका तारावहादुर रायमाझी सहभागि थिए । अनुगमनका क्रममा टोलीले पसलमा भेटिएका उपभोक्तासँग तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भनी प्रतिक्रिया समेत लिएको थियो ।
वजारमा उपलव्ध सामानको गुणस्तर कायम गराउन र उपभोक्ताको हितका लागि चाडपर्व लक्षित गरेर वजार अनुगमनलाई तिव्रता दिईएको अनुगमन टोलिका संयोजक एवं पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख महराज ढकालले वताउनुभयो । उपभोक्ता सचेत भएर सामानको विल लिएर कारोवार गर्न उहाको सुझाव थियो ।