पोखरा, फागुन ७ गते । कास्कीको रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । यही फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवस मनाउने तयारी गरिएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भलिबल, झाँकी र माला प्रतियोगिता, रैथाने बाली तथा बाख्रा प्रर्दशनी तथा कृषि स्टलहरु रहने छन् । पालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पनि आयोजना गरिने भएको छ । वडास्तरीय पुरुष भलिबलमा रुपा गाउँपालिका बाहेकका अन्य खेलाडी सहभागी हुन नपाउने अध्यक्ष ओझाले बताउनुभयो । गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र संवर्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुने र प्रत्येक समूहले पाँच वटा माला समावेश गर्ने गरी माला प्रतियोतिा पनि समावेश गरिएको अध्यक्षले ओझाले जानकारी दिनुभयो । दिवसका अवसरमा जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत हुनेछ । किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानहरुलाई नगद पाँच हजारसहित सम्मान गरिनेछ । सोही कार्यक्रममा रुपा गाँउपालिकालाई विकास र समृद्धिको बाटोमा लानका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सामाजिक ब्यक्तित्वहरु, विध्यवारिधि, एमडि, पिएचडि गरेका ब्यक्तिहरुलाई रुपमा रत्न २०८१ बाट सम्मान समेत गरिने अध्यक्ष ओझाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । स्थापना दिवसमा आयोजना हुने कार्यक्रममा स्थानीय तथा राष्टिय कलाकाहरुको सांंस्कृतिक प्रस्तुति रहेने छ ।
पालिका स्थापना दिवसको अवसरमा आयोजना गरिने पुरुष भलिबलमा प्रथम हुनेलाई ७७ हजार ७ सय ७७, द्वितीयलाई ५५ हजार पाँच सय ५५ र तृतीयलाई ३३ हजार तीन सय ३३ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । त्यसगरी बेस्ट प्लेयरलाई नगद पाँच हजार, बेस्ट सेटरलाई दुई हजार र बेस्ट स्पाइकरलाई दुई हजार नगद प्रदान गरिनेछ ।झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कार राखिएको अध्यक्षले ओझाले बताउनुभयो । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई चार हजार र तृतीयलाई दुई हजार पुरस्कार प्रदान गरिनेछ ।
फागुन २४ गते स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिने र २७ गते मूल समारोह हुने गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले बताउनुभयो । रुपा गाउँपालिकाले पालिकाको विकास र समृद्धिमा सहयोग पुर्याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी, गरेका विभिन्न व्यक्तिलाई रुपा रत्नबाट सम्मान गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको छ ।कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न चार वटा समिति गठन गरेर तयारी सुरु गरिएको अध्यक्ष ओझाको भनाइ छ ।