पोखरा, बैशाख २ गते ।कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।
आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि ब्वाइज तथा गल्सतर्फ सिंगल,डबल्स गरी विभिन्न १४ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो ।
१६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गर्ने छन । ब्वाइज तथा गल्र्स ओपन डबल्स तर्फ बिजेताले नगद १० हजार उप विजेताले ५ हजार सहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।
१४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गर्ने छन ।१२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गर्ने छन । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै ४ लाख खर्च लाग्ने संघ कास्कीका अध्यक्ष भिष्मराज पौडेलले बताउनुभयो । पोखरामा खेल पर्यटन प्रवद्र्धन गर्न पनि प्रतियोगिता महत्वपूर्ण सावित भएको उहाँले बताउनुभयो ।
प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले मुख्य प्रायोजन गर्नुभएको छ । प्रतियोगितामा पोखरा सहित काठमाण्डौ, चितवन, बुटवलका खेलाडीहरुले भाग लिने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै संघ कास्कीका सदस्य प्रिति बरालले यो प्रतियोगिताले नवप्रतिभाशालि खेलाडीको प्रतिभा प्रस्फुटनमा मद्धत पुग्ने बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दैसञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।