पोखरा ।एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २९-२७ र तेस्रो सेट २८-२६ ले जित निकाल्यो । कर्णालीकि आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।
कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसंगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ । काठमाडौंले दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेश युनाइटेडलाई हराएको थियो ।
आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।