पाेखरा उद्योग वाणिज्य संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र संयमित हुन उद्योगी÷व्यवसायीहरुमा आग्रह पनि गरेको छ ।
संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ । उद्योगी÷व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन् ।
अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ,‘ सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।’
पोखरा उद्योग वाणिज्य संघले कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ ।
उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह
संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ ।
यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ ।