पोखरा, मंसिर ७ गते । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने नारा सहित २१ औं लेखनाथ महोत्सव–२०८२ पुस पहिलाे साताबाट संचालन हुने भएकाे छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आज पतकार सम्मेलन गरेर आगामी पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ डाँडाकोनाक, तालचोकमा भव्य रूपमा आयोजना गर्ने तयारी गरिएकाे जानकारी गराएकाे हाे ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा यस वर्ष ३३५ वटा स्टल रहनेछन् । महोत्सवलाई स्थानीय उत्पादन, पर्यटन, सांस्कृतिक पहिचान र आर्थिक कारोबारसहितको बहुआयामिक मंचको रूपमा अघि बढाइएको लेखनाथ उद्याेग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले जानकारी दिइन ।

महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, कृषि उत्पादन, मौरी, कफी, माछा, ताजा तरकारी, जैविक वस्तु, दैनिक उपभोग्य सामान, किचन सामग्री, खेलकुद, स्वास्थ्य, शिक्षा, अटोमोबाइल, फूड फेस्टिभल, सूचना–प्रविधि, ग्रामीण प्रविधि, डेरी, नेपाली उत्पादन तथा विभिन्न प्रकारका सेवामूलक प्रदर्शनी रहनेछन् । साथै व्यवसायी तथा उद्यमीलाई लक्षित Business Talk Show, सांस्कृतिक झाँकी, रत्यौली गीत, विद्यालय स्तरीय कार्यक्रम, कन्टेन्ट क्रियेटर तथा टिकटक प्रतियोगिता, सुगम संगीत कन्सर्ट, पप कन्सर्ट, राष्ट्रिय कलाकारहरूको दोहोरी तथा हास्य–व्यंग्य कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने अध्यक्ष पराजुलीले जानकारी दिइन । महाेत्सवमा एशियाको ज्योति भनेर चिनिने गौतम बुद्धका विशेष प्रस्तुति यस पटकको विशेष आकर्षणमा रहने भएकाे छ ।
महोत्सवमा अटो स्टल ६, कृषि ३४, किचन सामग्री २७, हस्तकला १८, गार्मेन्ट १२२, फूड एण्ड बेभरेज १४, डेरी १०, नेपाली उत्पादन १२, शैक्षिक तथा प्रविधि स्टल ८, बैंक तथा वित्तीय संस्था २७ सहित कुल ३३५ स्टल रहने संघका द्वितिय उपाध्यक्ष एंव महाेत्सव प्रचार प्रसार उपसमिति संयाेजक ध्रुबवाबु भट्टराइले बताए ।
महोत्सव प्रवेश शुल्क विद्यार्थीका लागि ५०, सर्वसाधारणका लागि १०० र सुगम संगीत कन्सर्टका लागि २०० रुपैयाँ तोकिएको छ । यस वर्ष महोत्सवमा २ लाख ५० हजार दर्शक, ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार, ९५ लाख आम्दानी, ८५ लाख खर्च र १० लाख बचत हुने अनुमान गरिएको छ । बचत रकम नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र विस्तार, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वमा लगानी गरिने संघले जनाएको छ ।
महोत्सवका मुख्य उद्देश्यमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकला तथा पहिचानयुक्त वस्तुको बजार विस्तार,घरेलु तथा साना उद्योगको प्रवर्द्धन,सीप, ज्ञान तथा आधुनिक प्रविधिको हस्तान्तरण, उद्यमशीलता अभिवृद्धि तथा स्वदेशी उत्पादनलाई बलियो बनाउने,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाजारसम्म स्थानीय उत्पादनको पहुँच विस्तार, जातीय भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रदर्शन, नवप्रतिभा प्रस्फुटन र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने रहेका छन ।
संघका सदस्यले स्टल बुकिङमा २० प्रतिशत छुट तथा ढुवानीमा २ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ । सदस्यका लागि बुकिङ मंसिर ८ गतेबाट, अन्यका लागि मंसिर १५ गतेबाट खुल्नेछ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निम्न समिति गठन गरिएको छ निर्देशक समिति १० जना,सल्लाहकार ४८ जना,उप–समिति संयोजक ४३ जना,कार्यसम्पादन समिति सदस्य ६६,मूल समारोह समिति सल्लाहकार ८० जना र मूल समारोह समिति सदस्य ३ सय जनाकाे रहेकाे छ ।
महोत्सव सफल गर्न सञ्चारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी, महिला समूह, युवा क्लब, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारको निरन्तर सहयोग अपरिहार्य रहेको आयोजकले जनाएको छ । प्रचार प्रसार उपसमिति संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुबवाबु भट्टराईका अनुसार महोत्सव लेखनाथको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ ।
पोखरा–२७, लेखनाथ । क्षेत्रको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीको हकहितको संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई लक्षित गर्दै लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सव यस वर्ष २१ औँ संस्करणमा प्रवेश गरेको छ । विसं २०५४ साल असार २० गते ८० सदस्यबाट स्थापना भएको संघले क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन वर्षौँदेखिको निरन्तर प्रयासमार्फत महोत्सवलाई नेपालकै उत्कृष्ट मेला महोत्सवमध्ये एकका रूपमा स्थापित गर्न सफल भएको छ ।
२०५९/६० मा सुन्तला प्रदर्शनी र २०६१ सालमा सुरु गरिएको सपथ मूल्य बजार कार्यक्रममार्फत महोत्सवले समसामयिक आवश्यकताअनुसार निरन्तर परिमार्जन हुँदै आएको छ । आर्थिक चुनौती बढिरहेको परिस्थितिमा व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबललाई पुनः उच्च बनाउन, बजारलाई गतिशील बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु महोत्सवको प्रमुख उद्देश्य रहेको संघले जनाएको छ ।
महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकताको संगमस्थलका रूपमा उपयोग गर्दै आएको संघले यस वर्ष पनि सफल व्यवस्थापनसहित अघि बढाइरहेको छ।