सृजना कप सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल पुस २२ गतेदेखि

एकराज गिरी/पोखरा । सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको सातौँ संस्करण पुस तेस्राे साताबाट हुने भएको छ।

केन्द्रले आज पत्रकार सम्मेलन गरेर पुस २२ देखि २४ गतेसम्म प्रतियाेगिता आयाेजना गर्न लागेकाे जानकारी दिएकाे हाे ।यसअघि सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता यस वर्ष सृजना विकास केन्द्रको एकल आयोजनामा सातौँ संस्करणका रूपमा हुन लागेको हो।

 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित  पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।

 

प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक (सरकारी) विद्यालयका कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा करिब ६० टिम सहभागी हुने अपेक्षा आयोजकले गरेको छ।

 

विद्यालय तहबाटै खेलकुदको जग मजबुत बनाई जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। कास्की जिल्लाका कुना–कन्दरामा लुकेर रहेका प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर मिल्ने विश्वास पनि आयोजकले लिएको छ।

 

प्रतियोगितामा छात्र तथा छात्रा दुवै तर्फका विजेतालाई जनही १ लाख रुपैयाँ, उपविजेतालाई ६० हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ३५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयाेजक बालकृष्ण बरालले जानकारी दिए । उनका अनुसार  सर्वोत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई ५/५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ। बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भर विधाका उत्कृष्ट खेलाडीलाई जनही एक थान भलिवल प्रदान गरिनेछ।

 

प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको र खर्च कटाएर बचत हुने रकम सृजना विकास केन्द्रले सामाजिकउत्तरदायित्वअन्तर्गतका कार्यमा खर्च गर्ने जनाएको छ।

 

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले प्रचारप्रसारमा सहयोग गरिदिन पत्रकार मित्रहरूसँग आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...