एकराज गिरी/पोखरा।पोखरालाई खेल पर्यटनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित २२औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

फास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगिता आगामी पौष ११ देखि १५ गतेसम्म (डिसेम्बर २६ देखि ३०, २०२५) सञ्चालन हुनेछ। प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडीहरूको सहभागिता रहने प्रतियाेगिताकाे डाइरेक्टर नविन चालिसेले जानकारी दिए ।
प्रतियोगितामा मेन्स तथा उमन्स सिंगल्स र डबल्ससहित २५, ३५, ४५, ५५ र ६५ वर्षमाथिका उमेर समूह गरी कुल १२ विधामा प्रतिस्पर्धा हुनेछ।
ओपन मेन्स तथा उमन्स सिंगल्सतर्फ विजेताले नगद ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ तथा सेमिफाइनलिस्टले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मेन्स तथा उमन्स डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी २५ वर्षमाथि सिंगल्सतर्फ विजेताले ६० हजार, उपविजेताले २० हजार र सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। ३५ वर्षमाथि डबल्स, ४५ वर्षमाथि सिंगल्स तथा डबल्स, ५५ वर्षमाथि सिंगल्स तथा डबल्स र ६५ वर्षमाथि सिंगल्स तथा डबल्स विधामा पनि आकर्षक नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। प्रतियोगिताको सफलताका लागि सञ्चारमाध्यमको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।