एकराज गिरी/पोखरा । टाइगर ग्रुप अफ नेपालको आयोजनामा ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को छैटौँ संस्करण भोलिदेखि पोखरामा सुरु हुँदैछ। माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

पोखरा रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताको उद्घाटन भोलि दिउँसो १ः३० बजे गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्ने बताए।प्रतियोगिताको उद्घाटन खेल पुरुष तर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स बीच हुने आयोजकले जनाएको छ। महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन ।
एनसेलको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन्। यसअघि दुवै विधातर्फ ७/७ टिमको सहभागिता रहने भनिए पनि अन्तिम समयमा महिलातर्फ भारत र बुटवलका टिम तथा पुरुषतर्फ भारतको एक टिम सहभागी हुन नसकेपछि टिम संख्या घटेको अध्यक्ष शर्माले जानकारी दिए ।
पोखरा रंगशालास्थित भलिबल काेर्टमा हुने प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब तथा थाइल्यान्डको क्विन्स थाइल्यान्ड क्लब सहभागी हुने भएका छन ।सहभागी हुन थाइल्याण्डकाे टिम पाेखरा आइसकेकाे छ ।
त्यस्तै, पुरुषतर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ तथा माल्दिभ्स भलिबल एसोसिएसनले प्रतिस्पर्धा गर्ने पक्का भएकाे छ ।
त्यस्तै, तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको उपाधि विजेता टिमले जनही नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी, महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई समान नगद ११ हजार ६६६ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शर्माले बताए ।प्रतियाेगितामा केल्मी अफदी म्याचमा मायाकाे चिनाे र दर्शकलाइ किकटकाे अर्धकट्टीबाट भाग्यमानी दर्शक घाेषणा गरि एकथान टिसर्ट प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। दर्शकले प्रतियोगिता अवलोकनका लागि टिकट काट्नुपर्ने आयोजकले जनाएको छ। सचिव डिबी नेपालीका अनुसार यस वर्ष सिजनल टिकटको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिकट अनलाइन मार्फत लिन सकिने व्यवस्था गरिएकाे उनले बताए ।
भलिबल प्रतियाेगिता बाट बचत रकम स्वास्थ्य,शिक्षा र खेलकुद तथा सामाजिक क्षेत्रमा खर्च गरिने प्रतियाेगिताकाे प्रचार प्रसार संयाेजक डाेलराज पाेखरेले जानकारी दिए ।