पाेखरामा टाइगर कप भलिबल आजदेखि

एकराज गिरी/ पोखरा ।टाइगर ग्रुप अफ नेपालको आयोजनामा ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को छैटौँ संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ। माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।


टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताको उद्घाटन भोलि दिउँसो १ः३० बजे गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्ने बताए।

 

उद्घाटन खेल पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स भलिबल एसोसिएसनबीच हुनेछ भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ।

 

एनसेलको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिम सहभागी हुनेछन्। यसअघि दुवै विधातर्फ ७–७ टिम सहभागी गराउने योजना भए पनि अन्तिम समयमा महिलातर्फ भारत र बुटवलका टिम तथा पुरुषतर्फ भारतको एक टिम सहभागी हुन नसकेपछि टिम संख्या घटाइएको अध्यक्ष शर्माले जानकारी दिए।

 

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब तथा थाइल्यान्डको क्विन्स थाइल्यान्ड क्लब सहभागी हुनेछन्। थाइल्यान्डको टिम पोखरा आइसकेको आयोजकले जनाएको छ।

 

त्यस्तै, पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भलिबल एसोसिएसनले प्रतिस्पर्धा गर्नेछन्। तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

 

प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेता टिमले जनही नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

त्यसैगरी, महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही २६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई ११ हजार ६६६ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शर्माले बताए।

 

प्रतियोगिताका क्रममा ‘केल्मी अफ द म्याच’ घोषणा गरिनुका साथै दर्शकमध्ये अर्धकट्टीबाट भाग्यमानी दर्शक छनोट गरी एकथान टिसर्ट प्रदान गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नुपर्नेछ। सचिव डिबी नेपालीका अनुसार सिजनल टिकटको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकिएको छ भने टिकट अनलाइनमार्फत पनि उपलब्ध हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...