एकराज गिरी /पोखरा, २५ औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भाेलि शनिबार छिनोफानो हुँदैछ । पाेखरा रंगशालाकाे फुटबल मैदानमा १४ वर्षपछि उपाधि नजिक पुगेको जावलाखेल युथ क्लब र घरेलु टोली तथा आयोजक सहारा क्लब आमनेसामने हुँदैछन् । शनिबारकाे फाइनल खेलसँगै प्रतियोगिताले एक वर्षका लागि विश्राममा लिनेछ ।

१४ वर्षपछि पोखराको मैदानमा फाइनल प्रवेश गरेको जावलाखेल उपाधि जित्दै विगतको हारको पीडा मेटाउने लक्ष्यमा छ । जावलाखेलले सेमिफाइनलमा उज्वेकिस्तानी टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । विदेशी टोलीविरुद्धको जितले टोलीको मनोबल उच्च रहेको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले बताएका छन् ।
यद्यपि नियमित सेट टिमका खेलाडी युवराज ढकाल रातो कार्डका कारण फाइनल खेल्न नपाउने भएपछि टोलीलाई केही दबाब परेको छ । प्रशिक्षक श्रेष्ठका अनुसार रातो कार्डका कारण सेट टिममा सामान्य असर परे पनि वैकल्पिक खेलाडीमार्फत त्यो अभाव पूर्ति गरिनेछ । “रातो कार्डले केही फरक त पर्छ, तर हामीसँग राम्रो विकल्प छन् । टोली उपाधि जित्न तयार छ,” उनले फाइनलको पूर्वसन्ध्यामा बताएका छन् ।
उनले १४ वर्षअघि फाइनलमा भोगेको हारको स्मरण गर्दै यसपटक इतिहास कोर्ने लक्ष्य स्पष्ट रहेको उल्लेख गरे । जावलाखेल आक्रामक रणनीतिका साथ सुरुवाती गोल गर्दै खेलमा दबाब बनाउने योजनामा रहेको छ । विदेशी खेलाडीको भरमा रक्षापंक्ति मजबुत बनाउँदै मिडफिल्डमार्फत तीव्र आक्रमण गर्ने रणनीति टोलीले अपनाउने संकेत दिएको छ ।
सहाराको लक्ष्य : घरेलु मैदानमा इतिहास दोहोर्याउने
यता सहारा क्लब ९ वर्षपछि पुनः फाइनलमा पुगेको हो । चार पटक फाइनल खेलेको सहाराले यसअघि १२औँ संस्करणमा उपाधि जितेको थियो । त्यसयता उपाधि नजिक पुगेर पनि सफल हुन नसकेको सहारा यसपटक घरेलु मैदानको फाइदा उठाउँदै दोस्रो पटक उपाधि उचाल्ने धुनमा छ ।
सहाराका प्रशिक्षक सुनिल रानाले घरेलु समर्थकको साथ र आत्मविश्वासले टोली बलियो बनेको बताएका छन् । “घरेलु मैदानमा उपाधि उचालेर इतिहास दोहोर्याउने हाम्रो लक्ष्य हो । त्यसका लागि आवश्यक रणनीति अपनाउँछौं,” उनले भने ।
सहाराले विदेशी खेलाडीको भरमा डिफेन्स मजबुत बनाउँदै काउन्टर अट्याकमा जोड दिने रणनीति तयार गरेको छ । सुरुआती गोल निकाल्दै खेलको गति आफ्नो पक्षमा पार्ने योजना सहाराको पनि रहेको छ । अनुभव र घरेलु वातावरण दुवै टोलीका लागि निर्णायक बन्न सक्ने देखिन्छ ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी उचाल्नेछ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । साथै उत्कृष्ट विधागत खेलाडीहरूले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
दुवै टोलीको तयारी, रणनीति र लक्ष्य उपाधिमै केन्द्रित रहेकाले आजको फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पोखराका फुटबल प्रेमी दर्शकको उल्लेखनीय उपस्थितिमा उपाधि कसले उचाल्छ भन्ने चासो फुटबल प्रेमिका रहेकाे छ