अन्नपूर्ण बहुप्राविधिक शिक्षालय को वार्षिकोत्सव तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) परिषद् दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ।

अन्नपूर्ण गाउँपालिका–३ मा अवस्थित शिक्षालयमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा उत्तीर्ण विद्यार्थीहरूको बिदाइ गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी रहनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले वर्तमान समयमा प्राविधिक शिक्षा अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय स्तरमै सीप विकास, कृषि तथा व्यावसायिक शिक्षामार्फत युवाहरूलाई आत्मनिर्भर बनाउन यस्ता शिक्षालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
साथै, अन्नपूर्ण गाउँपालिकाले प्राविधिक शिक्षाको प्रवर्द्धनका लागि निरन्तर साथ र सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
शिक्षालयले CTEVT अन्तर्गत डिप्लोमा इन एग्रीकल्चर (प्लान्ट साइन्स) र डिप्लोमा इन एग्रीकल्चर (एनिमल साइन्स) कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राविधिक शिक्षालाई गाउँ–गाउँसम्म विस्तार गर्दै स्थानीय कृषि तथा पशुपालन क्षेत्रको विकासमा संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ।
उक्त कार्यक्रमले प्राविधिक शिक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सीपमूलक तथा आत्मनिर्भर भविष्यतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।