पोखरा । साहसिक हवाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (Accuracy Competition) २०२६ हुने भएकाे छ ।

यहि चैत ५ देखि ७ गते (मार्च १९–२१) सम्म पोखरामा आयोजना हुने प्रतियाेगिताकाे तयारी तिब्र पारिएकाे खेल संयाेजक सुनिल बहादुर भट्टराइले जानकारी दिए ।
नेपाल हवाई खेलकुद संस्था (NAA) को आयोजनामा हुने प्रतियोगिताको तयारी करिब ९० प्रतिशत पूरा भइसकेको उनले बताए । प्रतियोगिताका लागि संस्थाका निर्वतमान अध्यक्ष सुनिल बहादुर भट्टराई को संयोजकत्वमा मुख्य आयोजक समिति गठन गरिएको छ। प्रतियोगिताको व्यवस्थापनका लागि ७ सदस्यीय मुख्य समिति र १० वटा उपसमिति बनाइएको छ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी हालसम्म करिब ९० खेलाडीले नाम दर्ता गराएका छन्। प्रतियोगिता सुरु हुँदासम्म करिब १०० खेलाडी सहभागी हुने अनुमान गरिएको आयाेजकले जनाएकाे छ ।
नेपाल हवाई खेलकुद संस्थाले करिब २० वर्षदेखि निरन्तर नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। केही वर्षयता यो प्रतियोगिता अन्तर्राष्ट्रिय हवाई खेल महासंघ (FAI) को Category II मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको छ।
कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलो उडानमा लगाएको रोकका कारण केही समय रोकिएको प्रतियोगिता यस वर्ष पुनः आयोजना गर्न लागिएको हो। प्रतियोगिताबाट पर्यटन प्रवर्द्धन, खेलाडीको क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विभिन्न विधामा विजेतालाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।Accuracy Male (Overall) तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
Accuracy Female (Overall) तर्फ क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ।त्यस्तै Team Event तर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
मौसमलाई ध्यानमा राखेर प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितास्थलमा मौसमसम्बन्धी जानकारीसहित खेलाडीलाई आवश्यक निर्देशन दिइनेछ। सुरक्षा व्यवस्थाका लागि स्वयंसेवक, उद्धार टोली, सशस्त्र प्रहरी, नेपाली सेना, मोटरबोट, स्वास्थ्य सामग्री र चिकित्सकको व्यवस्था गरिने प्राविधिक समिति संयाेजक याेगेश भट्टराइले जानकारी दिए ।उनका अनुसार सहभागी सबै खेलाडीको अनिवार्य बीमा पनि गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको अनुमानित बजेट करिब ३० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।पोखरा र देशको प्रतिष्ठासँग जोडिएको यस प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको आयोजकले अपिल गरेको छ।