पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ को आयोजना र गण्डकी प्रदेश बुद्धिचाल संघ को व्यवस्थापनमा विद्यालयस्तरीय छात्र तथा छात्रा बुद्धिचाल प्रतियोगिता–२०८३ हुने भएको छ।

प्रतियोगिता वैशाख ३० र ३१ गते वडा नं. १५ को कार्यालयमा सञ्चालन हुने वडा सदस्य एंव प्रतियाेगिता संयाेजक आशिष भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने छात्र र छात्रालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम हुनेलाई २५०० रुपैयाँसहित ट्रफी, द्वितीयलाई २००० र तृतीयलाई १५०० रुपैयाँ प्रदान गरिनेछ। अन्य स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
प्रतियाेगितामा महानगरभित्रका प्रत्येक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति वैशाख २५ गतेसम्म तोकिएको उनले बताए ।
प्रतियोगिता अन्तर्राष्ट्रिय नियमअनुसार SWISS प्रणालीमा खेलाइनेछ। खेल बिहान ११ बजेबाट सुरु हुनेछ र सहभागी खेलाडीहरूले बिहान १०:३० बजेभित्र उपस्थित हुनुपर्नेछ। साथै, खेलाडीहरूले विद्यालयबाट प्रमाणित दर्ता फारम र परिचय पत्र अनिवार्य रूपमा ल्याउनुपर्ने नियम राखिएकाे छ ।
प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने र आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा बुद्धिचाल खेलप्रति रुचि बढाउने विश्वास गरिएको छ।