पोखरा, वैशाख २४ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने “१०औँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२” का विभिन्न विधातर्फ मनोनयन सार्वजनिक गरेको छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने अवार्ड कार्यक्रम वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने छ ।

मञ्चका महासचिव परशुराम शर्माद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यस वर्ष अवार्डमा ९ विधा समावेश गरिएको छ । जसमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संस्था वा क्लब, स्पेसल अवार्ड तथा उत्कृष्ट खेल पत्रकार अवार्ड रहेका छन् ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा विज्ञान टी. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सरोज विक्रम शाह (भलिबल) परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीमा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथलेटिक्स) र मनिषा तामाङ (जुडो) मनोनयनमा परेका छन् ।
उदीयमान खेलाडी विधामा अनुष्का अधिकारी (एथलेटिक्स), सौरन सगार (तेक्वान्दो) र निशा राई (ब्याडमिन्टन) छनोट भएका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो) र सिद्धान्त अधिकारी (एथलेटिक्स) मनोनयनमा परेका छन् ।
त्यसैगरी वर्ष उत्कृष्ट खेल संघतर्फ कास्की जिल्ला क्रिकेट संघ तथा वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ दीपनाथ बराललाइ प्रदान गरिने मञ्च अध्यक्ष एमवी आस्थाले जानकारी दिए ।
यस वर्ष पिपुल्स च्वाइस अवार्ड पनि समावेश गरिएको आयोजकले जनाएको छ । उक्त विधाका लागि विपिन खत्री (क्रिकेट), दीप कार्की (फुटबल), नारायणी भण्डारी (एथलेटिक्स), राजन थापा (भलिबल) र सुस्मिता थापा (मुवाथाई आइटिएफ तेक्वान्दो) मनोनयनमा परेका छन् । पिपुल्स च्वाइस अवार्डका लागि खल्ती एपमार्फत मतदान गर्न सकिने र मतदान वैशाख ३० गते राति १२ बजेसम्म खुला रहने जनाइएको छ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न सरकारी तथा निजी संघसंस्थाको सहकार्य रहने आयोजकले जनाएको छ ।