छैठौं अन्नपूर्ण म्याराथन जेठ २० गते हुने

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत रहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले “सबै मौसमका लागि पर्यटन” भन्ने नारासहित छैठौं संस्करणको “अन्नपूर्ण म्याराथन–२०८३” आयोजना गर्ने भएको छ। समितिका अनुसार जेठ २० गते (जुन ३, २०२६) अन्नपूर्ण आरोहण दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेकाे आज पाेखरामा पत्रकार सम्मेलन आयाेजना गरि जानकारी  दिएको हो।


म्याराथन अन्नपूर्ण आधार शिविर (४,१३० मिटर) बाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ हुँदै घान्द्रुक स्थित श्री मेष्रम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न हुने  अन्नपूर्ण सेन्चुरी पर्यटन समिति अध्यक्ष एंव अन्नपूर्ण म्याराथन आयाेजक समितिका संयाेजक ललित गुरुङले जानकारी दिए ।

 

प्रतियोगिताको दूरी ४२.१९५ किलोमिटर रहने जनाइएको छ।
समितिका अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष “अन्नपूर्ण आरोहण दिवस” मनाइँदै उनले बताए  । सोही अवसरमा म्याराथन आयोजना गरिँदै आएको समितिले जनाएको छ।

 

आयोजकका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा सहभागिता खुला गरिएको छ।

 

दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। पुरुष तथा महिला दुवै विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई पदक तथा प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

 

समितिका अनुसार म्याराथन सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। प्रतियोगिताका लागि विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, खेलकुद संस्था तथा निजी क्षेत्रबाट सहयोग जुटाइँदै गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...