चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाइ सम्मान

पाेखरा ।चुमनुब्री गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम–२०८३” सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो।


गाउँपालिका अध्यक्ष निमा लामा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा समिति पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले शिक्षक र विद्यार्थीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

 

कार्यक्रमका वक्ताहरूले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्नु सकारात्मक संस्कार भएको बताए।

 

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८१ तथा २०८२ मा शतप्रतिशत तथा ९० प्रतिशतभन्दा माथिको नतिजा ल्याई विद्यालयको शैक्षिक उपलब्धिलाई उच्च बनाउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी, एसईई २०८१ र २०८२ तथा आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ र कक्षा ५ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्रसहित जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

 

यस अवसरमा श्री बुद्ध माध्यमिक विद्यालय र श्री फिलिम आधारभूत विद्यालय मा क्रमशः ३२ र ३६ वर्षसम्म प्राथमिक तह शिक्षकका रूपमा सेवा गरी अनिवार्य अवकाश प्राप्त गरेका शिक्षकद्वय प्रकाश घमिरे र चन्द्र नारायण श्रेष्ठ लाई समेत सम्मान गरिएको थियो।

 

गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा २०८२ मा ८१ दशमलव २५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै गोरखा जिल्लाका ११ गाउँपालिकामध्ये दोस्रो स्थान हासिल गरेको जनाएको छ।
त्यसैगरी, एसईई २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने श्री ल्हो पेमा सम्भवा माध्यमिक विद्यालय लाई सम्मानपत्र तथा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो।

 

कार्यक्रममा सहभागी शिक्षकहरूले सम्मानले थप जिम्मेवारी र उत्साह प्रदान गरेको प्रतिक्रिया दिएका थिए। गाउँपालिकाले दुर्गम भौगोलिक अवस्थाका बाबजुद विद्यालयहरूमा शैक्षिक सुधार हुँदै जानु सकारात्मक संकेत भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...