एकराज गिरी/पोखरा, असार ३० । पोखरा रंगशालाको खेल पूर्वाधार विकासका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत १० करोड रुपैयाँ विनियोजन गरेको छ।

बजेटमा रंगशालामा फ्लडलाइट जडानका लागि ५ करोड रुपैयाँ र क्रिकेट मैदान स्तरोन्नतिका लागि थप ५ करोड रुपैयाँ छुट्याइएको छ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसलाई पोखराको खेलकुद क्षेत्रका लागि ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार वर्षौँदेखि उठ्दै आएको फ्लडलाइट निर्माणको माग अब कार्यान्वयनको चरणमा पुगेको छ।फ्लडलाइट जडान भएपछि पोखरा रंगशालामा साँझ तथा रातिको समयमा समेत फुटबल प्रतियोगिता सञ्चालन गर्न सकिनेछ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूले समेत लामो समयदेखि फ्लडलाइटसहितको आधुनिक रंगशालाको माग गर्दै आएका थिए।
त्यसैगरी क्रिकेट मैदान स्तरोन्नतिका लागि विनियोजित बजेटले मैदानको भौतिक पूर्वाधार सुधार, प्यारापिट व्यवस्थापन तथा खेलाडी र दर्शकमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। स्तरोन्नत सुविधासहितको क्रिकेट मैदानले पोखरामा क्रिकेट गतिविधिको विस्तारका साथै राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न थप सहजता प्रदान गर्ने अपेक्षा छ।
खेल क्षेत्रसँग आबद्ध व्यक्तिहरूले बजेटमा समेटिएको यो योजनालाई पोखराको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनीहरूका अनुसार फ्लडलाइट र स्तरोन्नत क्रिकेट मैदानले खेल पर्यटन प्रवर्द्धन, खेल संस्कृतिको विकास तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
जिल्ला खेलकुद विकास समिति कास्कीले खेल पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेकोमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरेको छ। समितिले उक्त योजनाले पोखरा रंगशालालाई राष्ट्रिय खेलकुदको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।