एकराज गिरी/पोखरा, असार १९ – नेपाली कफीको उत्पादन, गुणस्तर, बजारीकरण तथा उपभोग प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।

“चिनौं, चाखौं, अपनाऔं, प्रवर्द्धन गरौं” भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रम असार २० गते बिहान १० बजेदेखि पोखराको डुम्रबोटस्थित प्राङ्गणमा हुनेछ राष्ट्रिय चिया तथा कफी विकास बाेर्ड क्षेत्रीय कार्यालय पाेखराका निमित्त निर्देशक चन्द्र पुरीले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप, विभिन्न जिल्लाका उत्कृष्ट कफीको निःशुल्क स्वाद परीक्षण (टेस्टिङ), कफी प्रशोधन तथा उपकरण प्रदर्शनी, बिउदेखि कपसम्मको कफी मूल्य शृङ्खलासम्बन्धी जानकारी, किसान, व्यवसायी, सहकारी, अनुसन्धानकर्ता तथा उपभोक्ताबीच अन्तरक्रिया लगायतका गतिविधि सञ्चालन गरिनेछन्। कार्यक्रममा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।
आयोजकका अनुसार नेपालमा कफी खेतीप्रति युवाको आकर्षण बढ्दै गएको, गुणस्तरीय उत्पादन तथा बजार विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै नेपाली कफीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा नेपाल कफी व्यवसायी महासंघ, केन्द्रीय कफी सहकारी संघ, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको पुरीले बताए ।
यसैबीच, राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपकाे अन्तिम नतिजा पनि सार्वजनिक गरिएकाे छ । उत्कृष्ट अंक प्राप्त कफीहरू पनि छनोट भएका छन्। ललितपुरको सुर्य कफी सहकारी संस्था प्रथम, उसले ८६.२५ अंक प्राप्त गरेकाे छ ।
महाभारत साना किसान कृषि सहकारी संस्था महाभारत ८६ अंक सहित काभ्रे द्वितिय र काेट जन्म कफी उत्पादक कृषक समुह गण्डकी गाउँपालिका गाेरखा ८४.७५ अंक सहित तृतीय, महादेवटार धाेग कृषि फर्म महाभारत ३ काभ्रे ८४.७५ सहित तृतिय हुदाँ गुल्मी कफी स्टेट ८४.७५तृतिय नै भएकाे छ ।