वालिङ । स्वस्थ जीवनशैली, सन्तुलित आहार र प्राकृतिक उपचारका माध्यमबाट नागरिकलाई स्वस्थ जीवनतर्फ प्रेरित गर्ने उद्देश्यले वालिङमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ।

ग्लोबल ओरिएन्स नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय बदलिँदो जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव तथा पर्याप्त निद्राको अभावका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक एवं ग्लाेबल ओरिएन्सका गण्डकी प्रदेश संयोजक अजित गुरुङले स्वास्थ्यको वास्तविक महत्व मानिस अस्पताल पुगेपछि मात्र थाहा हुने गरेको बताउँदै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “स्वास्थ्यमा समस्या आएपछि मात्रै यसको महत्व बुझ्ने होइन, समस्या आउन नदिन र स्वास्थ्यका विषयमा समयमै बुझ्न आवश्यक छ। भविष्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई रोक्ने प्रयास नै अहिलेको सचेतना हो।”

आधुनिक र व्यस्त जीवनशैलीका कारण मानिसको खानपान, आराम र दैनिक व्यवहारमा आएको परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उहाँले बताउनुभयो। असन्तुलित खानपान र जीवनशैलीका कारण मुटु, मिर्गौला लगायतका विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै उहाँले सकारात्मक सोच र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

मानसिक तनाव र पर्याप्त निद्रा नहुँदा पनि स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँदै गुरुङले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित आहार, नियमित व्यायाम र पर्याप्त निद्रा आवश्यक रहेको उल्लेख गर्नुभयो।

उहाँले स्वस्थ जीवनशैलीका लागि घरको भान्साबाटै परिवर्तन सुरु गर्नुपर्ने बताउनुभयो। “भान्सा बदल्दा स्वास्थ्य बदलिन्छ,” उहाँको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य र पोषणका विषयमा जानकारी दिँदै स्वास्थ्यकर्मी नन्दु शर्माले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएको बताउनुभयो। जतिसुकै सम्पत्ति भए पनि स्वास्थ्य राम्रो नभए जीवन सहज नहुने उहाँको भनाइ थियो।
उहाँले रोगका कारण कतिपय अवस्थामा मानिस सामाजिक रूपमा समेत अपहेलित हुनुपर्ने अवस्था आउने भएकाले रोग लाग्नुअघि नै स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताउनुभयो। स्वस्थ खाना, पर्याप्त निद्रा र शरीरलाई आवश्यक पोषण प्राप्त भएमा स्वस्थ रहन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।
शर्माले परिवार र समाजलाई नै स्वस्थ बनाउन प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयो। पोषणको कमीलाई सम्बोधन गर्न आवश्यक ज्ञान र परामर्शसमेत महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य तथा पोषणसम्बन्धी नयाँ प्रविधि र उपलब्ध उपायका बारेमा समेत जानकारी दिइएको थियो। सहभागीलाई आवश्यकताअनुसार परामर्श दिएर मात्र पोषणसम्बन्धी सामग्री प्रयोग गर्न सुझाव दिइएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले स्वस्थ जीवनसँगै आर्थिक रूपमा सबल बन्न पनि स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
उहाँले दीर्घरोगबाट बच्न जीवनशैली र खानपानमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो। नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन यस्ता जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउँदै उहाँले खानामा विशेष ध्यान दिन र अस्वस्थकर तथा जङ्कफुडको प्रयोग घटाउन आग्रह गर्नुभयो।
उपप्रमुख तिवारीले स्वास्थ्यसम्बन्धी धेरै तालिम तथा कार्यक्रम सञ्चालन भए पनि त्यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न नसकिएको अवस्था रहेको बताउनुभयो। यस प्रकारका कार्यक्रमले नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वस्थ जीवनका लागि सकारात्मक सोच, सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा, पोषण तथा दैनिक जीवनशैलीमा गर्नुपर्ने सुधारका विषयमा जानकारी दिइएको थियो।
ग्लोबल ओरिएन्सका डिस्टिब्युटर्स कुसुम मगरका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्नुका साथै रोग लागेपछि उपचार गर्नुभन्दा रोगको जोखिम घटाउने, स्वस्थ खानपान र जीवनशैली अपनाउने तथा आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुने वातावरण निर्माण गर्नु रहेको छ।कार्यक्रमकाे संचालन रचना बिकले गर्नुभएकाे थियाे ।कार्यक्रम कास्की, स्याङ्जा र पाल्पाबाट सहभागी भएका थिए ।
