पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेलकुद, संगीत र सामुदायिक गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यले ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। लेकसाइडको सडक नम्बर १७ मा रहेको पार्कले पोखराको पर्यटन तथा मनोरञ्जन क्षेत्रमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।

‘मिरक्याट इन नेपाल’ को अवधारणामा विकास गरिएको पार्कले स्थानीय बासिन्दा र पर्यटकलाई भेटघाट, मनोरञ्जन तथा नयाँ अनुभव साटासाट गर्ने साझा स्थल उपलब्ध गराउने लक्ष्य राखेको छ। ‘भेटघाट, गतिविधि र अनुभव’ भन्ने अवधारणामा आधारित पार्कले सामाजिक सम्बन्ध र सामुदायिक सहभागितालाई प्राथमिकता दिएको छ।
पार्कमा विभिन्न व्यवसायी तथा उद्यमीले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्ने अवसर पाएका छन्। यहाँ पोखरा रोस्ट्रीको कफी, स्थानीय संस्कृतिमा आधारित कफीसम्बन्धी कक्षा, स्वास्थ्य तथा तन्दुरुस्तीसम्बन्धी सेवा र विभिन्न परिकारको स्वाद लिन सकिने व्यवस्था छ।
त्यस्तै, पाककला, कफी, खेलकुद, संगीत, खेलसम्बन्धी मनोरञ्जन तथा सिर्जनात्मक गतिविधिका लागि पनि विभिन्न सुविधा उपलब्ध छन्। बालबालिका र युवालाई लक्षित मनोरञ्जनात्मक कार्यक्रमसँगै सामाजिक अन्तरक्रियाका गतिविधि सञ्चालन गर्ने योजना रहेको छ।
पार्कमा नेसनल जियोग्राफिकका अन्वेषक रोहित गिरीको ‘भेगान्टो कर्नर’ जस्ता प्रकृति, वनस्पति तथा अनुसन्धानसँग सम्बन्धित पहल पनि समेटिएका छन्। यसले वातावरण र प्रकृतिप्रति रुचि राख्नेहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
संगीतप्रेमीका लागि सामूहिक रूपमा बाजा बजाउने तथा अभ्यास गर्ने अवसर, खेलकुदसम्बन्धी कार्यक्रम र सामाजिक अन्तरक्रियाका लागि विशेष स्थानको व्यवस्था गरिएको छ। यसका साथै योग, कार्यशाला, श्रव्यदृश्य सामग्री उत्पादन, पोडकास्ट, ट्याटु कला तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने सुविधा पनि रहेको छ।
मिरक्याट पार्कलाई व्यावसायिक परिसरमा मात्र सीमित नराखी फरक रुचि र पृष्ठभूमिका मानिसले भेटघाट गर्ने, नयाँ कुरा सिक्ने र अनुभव साटासाट गर्ने साझा स्थलका रूपमा विकास गर्न खोजिएको सञ्चालक सागर भट्टराईले बताए।
उनका अनुसार पार्कको विद्युतीय माध्यममार्फत नेपाल आउने विदेशी पर्यटक, पदयात्री, जहाँबाट पनि काम गर्न सक्ने प्रविधिमैत्री श्रमिक, स्थानीय बासिन्दा, पदप्रदर्शक, होटल व्यवसायी, कार्यक्रम संयोजक तथा पर्यटन व्यवसायीलाई जोड्ने लक्ष्य राखिएको छ।
यस माध्यममा पदयात्रा तथा साहसिक गतिविधि, कार्यक्रम, स्वयंसेवा, पदप्रदर्शक तथा स्थानीय आयोजकसँग सम्पर्क, सामुदायिक सूचना र स्थानीय जानकारी तथा सिफारिसलगायतका सुविधा समेटिएका छन्।
पार्कको भवनमा विभिन्न पसल तथा कार्यक्रम सञ्चालनका लागि स्थान उपलब्ध गराइएको छ। यसबाट करिब ७० जनालाई प्रत्यक्ष रूपमा संलग्न गराउने लक्ष्य रहेको सञ्चालकले बताएका छन्।
पोखराको पर्यटनलाई थप विविध र अनुभवमुखी बनाउने उद्देश्यसहित अघि बढाइएको मिरक्याट पार्कले स्थानीय उद्यम, कला, संस्कृति, मनोरञ्जन र पर्यटनबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
