काठमाडौं । बडादसैँअन्तर्गत आज विजयादशमीका दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइत रहेको छ।

दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएका देवीको प्रसाद आज मान्यजनबाट टीका र जमराका रूपमा ग्रहण गर्ने परम्परा छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन छुट्टै साइत खोज्न आवश्यक नरहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्।
उनका अनुसार राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ। शुभ साइतमा टीका लगाउँदा देवीको शक्ति, आशीर्वाद र उत्साह प्राप्त हुने धार्मिक विश्वासका आधारमा साइत निर्धारण गरिएको उनले बताए।
घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट वैदिक विधिअनुसार अभिषेक गरी विजयादशमीको टीका लगाउने परम्परा छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यो पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने धार्मिक परम्परा छ।
समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। देवी विसर्जनपछि टीका लगाउने गरिन्छ।
आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्नु शुभ मानिन्छ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो। धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेका थिए। यही विजयको सम्झनामा विजयादशमी मनाउन थालिएको मान्यता छ। त्यसैले यस दिनलाई सत्य, धर्म र विजयको प्रतीकका रूपमा लिने गरिन्छ।
