पोखरामा मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

पोखरा, कात्तिक ९। मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउँसो करिब २ः२५ बजेदेखि पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकको पृथ्वीराजमार्ग खण्डमा सवारी चालकको जाँच गरिएको थियो। इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गरेको जाँचका क्रममा छ जना चालकले लागूऔषध र एक जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा ग १ ख ९३९९ नम्बरको बसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्री रहेका छन्।

 

त्यसैगरी, लागूऔषध सेवन गरी सवारी चलाउनेमा ग १ ख ६१७१ नम्बरको बसका चालक लमजुङको बेँसीसहर नगरपालिका–२ का ३३ वर्षीय पवन परियार, ग १ ख ३२८२ नम्बरको बसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ का ३८ वर्षीय दीपक विक, ग १ ख ५१५३ नम्बरको बसका चालक तनहुँको म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली रहेका छन्।

 

यस्तै, ग १ ख ४२१७ नम्बरको बसका चालक तनहुँको भिमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार, ग १ ख ८५४४ नम्बरको बसका चालक म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनिष गुरुङ र ग १ ख ००८३ नम्बरको बसका चालक म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपाली पनि लागूऔषध सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

 

नियन्त्रणमा लिइएका सातै जना चालकविरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...