पोखरा, कात्तिक। जेन्जी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिन, थुनामा रहेका बन्दीलाई रिहा गर्न तथा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन गराउन माग गर्दै पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूहको आयोजनामा पोखरा महानगरपालिका–३, तेर्सापट्टीस्थित पोखरा सेन्ट्रल ओसिसमा आयोजित कार्यक्रममा जेन्जी अगुवा, मुद्दा खेपिरहेका व्यक्तिका परिवार, अभिभावक, नागरिक अभियन्ता तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
सरकारले सीमित मुद्दा मात्र फिर्ता लिने तयारी गरिरहेको भन्ने विषय सार्वजनिक भइरहेका बेला आन्दोलनका क्रममा मुद्दा खेपिरहेका व्यक्तिहरूको न्याय, बन्दीहरूको रिहाइ र सम्झौता कार्यान्वयनका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जेन्जी अगुवा सरिश्मा थापा र मोनिका निरौलाले आन्दोलनमा सहभागी भएकै आधारमा मुद्दा खेपिरहेका व्यक्तिहरूको न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनीहरूले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन, थुनामा रहेका बन्दीलाई बिनाशर्त रिहा गर्न तथा आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गराउन निरन्तर दबाब र सार्वजनिक बहस आवश्यक रहेको बताए।
त्यसैगरी, दबाब समूहका अध्यक्ष खली थापा, उपाध्यक्ष विवेक नाल्मी, सहसचिव शान्ति साइ तथा नागरिक अभियन्ता चन्द्रबहादुर गुरुङले आन्दोलनका क्रममा भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन गराउन सरोकारवाला निकायलाई निरन्तर खबरदारी गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा कारागारमा रहेका आफ्ना आफन्तको अवस्थाबारे पीडित परिवारका सदस्यहरूले आफ्ना पीडा, चिन्ता र अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले आफन्तको न्याय, मुद्दा फिर्ता र रिहाइका लागि सम्बन्धित निकायले गम्भीरतापूर्वक पहल गर्नुपर्ने माग गरे।
कार्यक्रममा दबाब समूहका सचिव राजन श्रेष्ठले तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत जेन्जी आन्दोलनका मुद्दा, बन्दी रिहाइ तथा १० बुँदे सम्झौता कार्यान्वयनका विषयलाई सार्वजनिक बहसमा ल्याउन सहयोग गर्ने पत्रकार, पीडित परिवार, जेन्जी अगुवा र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे।
आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन, पीडितलाई न्याय र १० बुँदे सम्झौताको कार्यान्वयन सुनिश्चित नभएसम्म सम्बन्धित निकायलाई खबरदारी गर्ने कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समूहले जनाएको छ।
