पाेखरा,मंसिर ७ गते ।पोखरामा सञ्चालन हुने नवौं संस्करणको पिभिटिसी कप महिला तथा पुरूष क्लबस्तरीय भलिबल च्याम्पियनसिप हुने भएकाे छ ।आयोजक भलिबल प्रशिक्षण केन्द्र पोखराले आज पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।

प्रतियोगिता यहि मंसिर ९ देखि १३ गते सम्म पोखरा ३, नदिपुरस्थित भलिबल प्रशिक्षण केन्द्र (छन्त्याल समाज)मा सञ्चालन हुने छ । प्रतियोगितामा पुरूषतर्फ ८ र महिलातर्फ ८ गरी कुल १६ टिमले सहभागिता जनाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए ।
प्रतियोगिताका रेफ्रि डेलिगेट तथा अन्तर्राष्ट्रिय एभिसी रेफ्रि टहल सिंह थापाका अनुसार पुरुषतर्फको खेल लिग कम नकआउट र महिलातर्फ नकआउटका आधार सञ्चालन हुनेछन् । पुरुषतर्फ गल्कोटका २ टिमसँगै एपिएफ पोखरा, घान्द्रुक क्रोमचे यूवा समिति, स्याङजा, माछापुच्छ्रे र तनहुँका स्थानिय क्लबहरुसँगै आयोजकको टिमले सहभागिता जनाउने छन् ।
त्यस्तै महिलातर्फ पोखरा लामाचौरका दुई टिमतथा इलाइट भलिबल प्रशिक्षण केन्द्र, शान्ता मावि, स्याङजा वालिङ, बाग्लुङ र माछापुच्छ्रेका स्थानिय क्लबहरु तथा आयोजकको एक टिम गरी ८ टिमको सहभागिता जनाउने संरक्षक पदम क्षेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पुरूषतर्फ उपाधि विजेता टिमले नगद रु १ लाख ५० हजार र उपविजेताले १ लाख तथा महिला तर्फ विजेताले नगद ६० हजार तथा उपविजेताले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष कुल प्रसाद छन्त्यालले जानकारी दिए ।
यसै गरी उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, प्रशिक्षक र उदियमान खेलाडीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले सिनियर राष्ट्रिय खेलाडी तीनजनालाई समावेश गर्न पाउने आयाेजकले जनाएकाे छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेकाे छ । गत वर्ष सम्पन्न ८औं संस्करणमा पुरुषतर्फ गल्कोट भलिबल टिम र महिलातर्फ धादिङ स्पोर्टस क्लब विजेता बनेका थिए ।
२०७२ सालमा स्थापित पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबलको विकास तथा व्यवसायिक खेलाडीहरुको उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । यो सँगै केन्द्रले शिक्षा र स्वास्थ्यका कार्यक्रमहरुलाई समेत जोडेर सामाजिक अभियानमा समेत उत्तिकै योगदान दिएको छ ।