राष्ट्रिय फ्लेयर मास्टर च्याम्पियनसिपमा राई बादशाह प्रथम

पोखरा । कालिपुर होटल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित राष्ट्रिय स्तरको “पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप” पोखरामा सम्पन्न भएको छ।


प्रतियोगितामा काठमाडौं, बिर्तामोड, चितवन, बुटवल, इटहरी, धनगढी (कैलाली) लगायतका विभिन्न जिल्लाबाट आएका ३७ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा बारटेन्डिङ पेशामा आबद्ध युवाहरूले आफ्नो सिप, रचनात्मकता र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए।


प्रतियोगितामा इटहरीका राई बादशाह किरात प्रथम हुँदै ४० हजार रुपैयाँ नगदसहित बार टुल सेट, “सेतो बाघ” अवार्ड, कफी परमिट, सम्मानपत्र, प्याराग्लाइडिङ रिभार्डलगायतका पुरस्कार प्राप्त गरे। त्यस्तै, धनगढीका नविन धामी द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद तथा बार सामग्रीसहित सम्मानित भए भने तृतीय स्थान हासिल गरेका बुटवलका रेशम गुरुङले १५ हजार रुपैयाँ नगद र बार सामग्री प्राप्त गरे।


यसैगरी, सान्त्वना (चौथो) स्थान प्राप्त गर्ने प्रतियोगीले ७ हजार रुपैयाँसहित बार सामग्री प्राप्त गरेका छन्। उत्कृष्ट ककटेल बनाउनेतर्फ राई बादशाह किरात (इटहरी) ले ५ हजार रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट बोतल शो गर्ने विधामा काठमाडौंका विनोद गुरुङले ५ हजार रुपैयाँ पुरस्कार जिते।

 

प्रतियोगिताको निर्णायक मण्डलमा काठमाडौंका युवराज पुन, ऐला विशेषज्ञ सुरज ममर्जन, स्टेप अप हस्पिटालिटी बुटवलका विष्णु सार र CTEVT का शैलेन्द्र सादी रहेका थिए।

 

कार्यक्रमका अवसरमा कालिपुर होटल ट्रेनिङ्ग तथा कालिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले प्रतियोगिताले बारटेन्डिङ पेशामा लागेका व्यक्तिहरूलाई सम्मान, प्रेरणा र सिपको कदर गर्ने विश्वास व्यक्त गरे।

 

साथै, नयाँ पुस्तालाई व्यावसायिक सिपको महत्व बुझाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए।वि.सं. २०६० सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म करिब २८ हजारभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...