मानवसेवा आश्रमकाे‌ महायज्ञबाट ३ करोड ४५ लाख बढी बचत

पोखरा, साउन ३ – मानवसेवा आश्रम हेम्जा शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ।

आश्रमले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी २०८३ वैशाख १९ देखि २६ गतेसम्म पोखरा महानगरपालिका–२५ हेम्जामा सम्पन्न महायज्ञबाट कुल ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा सङ्कलन भएको जानकारी दिएको हो।

 

महायज्ञ मूल आयोजक समिति संयोजक तथा सामाजिक अभियन्ता अनितकुमार शाहीका अनुसार उक्त रकम नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तहबाट प्राप्त सहयोग, जिन्सी सहयोग, दानपेटिका, गोप्यदान तथा विभिन्न बिक्रेताबाट प्राप्त छुट रकमसमेत समावेश गरिएको हो।

 

महायज्ञ सञ्चालनका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको र ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

 

सार्वजनिक विवरणअनुसार नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट मात्रै २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ सङ्कलन भएको थियो। त्यसैगरी व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपैयाँ प्राप्त भएको जनाएको छ।

 

यस्तै दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, ब्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपैयाँ तथा विभिन्न बिक्रेताबाट छुटस्वरूप ९ हजार ५ सय ६९ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ।
केन्द्रीय अध्यक्ष अधिकारीले मानवसेवा आश्रम हेम्जा शाखाको निर्माणाधीन भवन, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रमको अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए।

 

उनका अनुसार हाल पोखरा महानगरपालिका–२५ हेम्जा र पोखरा–१७ छोरेपाटनस्थित शाखामा ८६ महिला, १६२ पुरुष, पाँच बालक र चार बालिका गरी २५४ जना असहाय तथा बेसहारा नागरिक संरक्षणमा रहेका छन्। उनीहरूको संरक्षण, भोजन, स्वास्थ्य उपचार तथा अन्य आधारभूत व्यवस्थापनका लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए।

 

वि.सं. २०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल सातै प्रदेशका २३ जिल्लामा ३४ शाखामार्फत मानव सेवा तथा संरक्षणको कार्य सञ्चालन गरिरहेको जनाएको छ।

 

पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेलले गरेकी थिइन् भने सञ्चालन महायज्ञ मूल आयोजक समितिका सचिव पदमबहादुर केसीले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...