पाेखरा ।
न्युजिल्यान्डको ग्रान्ट बुश रिजर्भमा नेपाली मौलिक शैली र सांस्कृतिक पहिचान झल्कने ‘नेपाली चौतारी’ निर्माण हुने भएको छ। यसको पहल डा. रमिल अधिकारीको नेतृत्वमा अघि बढाइएको हो।
नेपाली समाजमा चौतारी परम्परागत रूपमा यात्राको थकाइ बिसाउने, शीतल छहारीमा बस्ने, भेटघाट गर्ने, कुराकानी गर्ने तथा अनुभव साटासाट गर्ने साझा थलोका रूपमा परिचित छ। यही सांस्कृतिक भावनालाई न्युजिल्यान्डको बहुसांस्कृतिक परिवेशसँग जोड्दै नेपाली चौतारी निर्माण गर्न लागिएको हो।
नेपाली चौतारीलाई नेपाली समुदायमा मात्र सीमित नराखी सबै समुदायका लागि साझा भेटघाटको थलोका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ। चौतारीमा किवी, माओरी तथा विभिन्न सांस्कृतिक र जातीय समुदायका मानिसहरूलाई समेत स्वागत गर्दै सबैले सँगसँगै बसेर भेटघाट, संवाद र आपसी सम्बन्ध विस्तार गर्न सक्ने वातावरण बनाउने उद्देश्य राखिएको छ।
नेपाली वास्तु तथा सांस्कृतिक शैली झल्कने गरी निर्माण हुने चौतारीका लागि अपर हट सिटी काउन्सिलले स्थान उपलब्ध गराएको हो। लामो समयको प्रयास र निरन्तर पहलपछि चौतारी निर्माणको अवधारणा कार्यान्वयनको चरणमा पुगेको डा. अधिकारीले बताउनुभएको छ।
डा. अधिकारीले आफूले चौतारी निर्माणको सुरुवात र पहल मात्र गरेको उल्लेख गर्दै यो अन्ततः समुदायको साझा सम्पत्ति र साझा थलो बन्ने बताउनुभएको छ।उहाँले चौतारी निर्माण तथा संरक्षणका लागि सबै समुदायलाई साथ दिन र हातेमालो गर्न आग्रह गर्नुभएको छ।
नेपाली संस्कृति र परम्परालाई न्युजिल्यान्डको बहुसांस्कृतिक तथा द्विसांस्कृतिक परिवेशसँग जोड्दै नेपाली चौतारीलाई सबैका लागि खुला, समावेशी र आत्मीय भेटघाटको थलो बनाउने परिकल्पना गरिएको छ।
नेपाली चौतारी बस्ने, बिसाउने, जोडिने र सँगै भेला हुने साझा थलोका रूपमा विकास गरिने जनाइएको छ।
