बागलुङको भल्कोटमा चौथो दशैं विशेष मेला सुरु

बागलुङ । पातिहाल्ने युवा क्लबको आयोजनामा बागलुङको निसीखोला गाउँपालिका–६, भल्कोटमा चौथो दशैं विशेष मेला तथा वार्षिकोत्सव–२०८३ सुरु भएको छ।

‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ आयोजित मेलाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घर्ती मगरले क्लबले मेला आयोजना गरेर पालिकाको प्रचारप्रसार गर्नुका साथै खेलकुदमार्फत अनुशासन र स्वस्थ नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उद्घाटन कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका सभापति मिलन घर्ती मगर, नेकपा निसीखोला कमिटीका अध्यक्ष भूमिराज घर्ती मगर र समाजसेवी हेमबहादुर मगरले मन्तव्य व्यक्त गरेका थिए।

क्लबका अध्यक्ष सुशील घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बोम बुढा मगरले गरेका थिए भने कोषाध्यक्ष प्रतिभा बुढा मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

 

उद्घाटन कार्यक्रम मारुनि नृत्य प्रदर्शन गरिएकाे थियाे ।लाेप हुदै गएकाे नृत्यकाे संरक्षण गर्ने उदेश्यले गरिएकाे नृत्यका कलाकारलाई प्राेत्साहन गर्न नगद दस हजार सहित सम्मान गरिएकाे क्लबले जानकारी दिएकाे छ ।

मेलाअन्तर्गत विभिन्न खेलकुद तथा सांस्कृतिक गरी ११ विधामा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, ३५ वर्षमाथिको पुरुष भलिबल, दोहोरी गीत, आइडल डान्स, पुरुष खेलो, रस्साकस्सी, यानीमाया भाका, घैँटोफोर, समूह नृत्य र स्लो बाइक रेस समावेश छन्।

 

पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले ६० हजार ६ सय ६६ रुपैयाँ र द्वितीय हुने टोलीले ३८ हजार ८ सय ८८ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिला भलिबलतर्फ प्रथमलाई २६ हजार र द्वितीयलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, ३५ वर्षमाथिको पुरुष भलिबलतर्फ प्रथमलाई ३० हजार र द्वितीयलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

 

समूह नृत्यतर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ रहेको छ। दोहोरी गीत र आइडल डान्सतर्फ प्रथम हुनेले आठ–आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुरुष खेलो, रस्साकस्सी, यानीमाया भाका र स्लो बाइक रेसतर्फ प्रथम पुरस्कार पाँच–पाँच हजार रुपैयाँ तथा घैँटोफोरतर्फ दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। अन्य प्रतियोगितामा पनि द्वितीय पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

भलिबल प्रतियोगितामा सहभागी खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी टोलीमा वडाबाहिरका बढीमा दुई जना खेलाडी राख्न पाइनेछ। प्रत्येक टोलीमा संयोजकसहित १० जना हुनुपर्ने, खेलाडी जर्सीमा उपस्थित हुनुपर्ने र परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउनुपर्ने नियम बनाइएको छ। खेलाडीले आफ्नो खानपान तथा बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ भने खेलका क्रममा विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ।

 

सामाजिक एकता र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्लबका अध्यक्ष सुशील घर्ती मगरले बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...