पोखरा, कात्तिक ४ गते । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड १९० संक्रमित विरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ ।
कोरोना संक्रमितको उपचार आफैंले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमै भनेपछि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार प्रदेशभित्र निःशुल्क भइरहेको स्पष्ट पारेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको स्पष्ट पार्नुभएको छ । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशमा ३८ ठाउँका आइसोलेसनबाट कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । संक्रमितमध्ये ३ हजार ६ सय बढी निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेश सरकारभित्र करीब ८३ हजार जनाको पीसीआर परीक्षण गरिसकिएको छ । कोरोनाबाट गण्डकी प्रदेशमा ५५ जनाले ज्यान गुमाइसकेका छन् ।