त्रिविका उपकुलपति प्रा. डा. थापाको प्रमुख आतिथ्यमा १९ औँ आईओई ग्राजुएट कन्फरेन्स सम्पन्न

पोखरा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको प्रमुख आतिथ्यमा इन्जिनियरिङ अध्ययन संस्थान (IOE) को १९ औँ आईओई ग्राजुएट कन्फरेन्स (19th IOE Graduate Conference – IOEGC 2026) पश्चिमाञ्चल क्याम्पस, पोखरामा सम्पन्न भएको छ।

मंसिर ११ र १२ गते सञ्चालन भएको ग्राजुएट कन्फरेन्समा  चार विषयगत क्षेत्रअन्तर्गत १३ वटा प्राविधिक सत्रमा ५० वटा शोधपत्र प्रस्तुत गरिएका थिए। मंसिर १२ गते अपराह्न आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. थापाले त्रिभुवन विश्वविद्यालय तथा यसअन्तर्गतका क्याम्पसहरूलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित शैक्षिक संस्थाका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताउँदै पछिल्ला केही वर्षमा पश्चिमाञ्चल क्याम्पसले भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि गरेका प्रयासको प्रशंसा गरे।

सम्मेलनका संयोजक उपप्राध्यापक राजेश भट्टराईको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कार्यसमिति सदस्य उपप्राध्यापक डा. शरण थापाले शोधपत्र समीक्षा तथा सम्मेलन सञ्चालन प्रक्रियासम्बन्धी अनुभव साझा गरे।

समारोहमा पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका निर्देशक सहप्राध्यापक डा. राजीव पोखरेलले आमन्त्रित वक्ताका रूपमा मन्तव्य राखेका थिए। त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले पनि मन्तव्य राखेका थिए। सहायक क्याम्पस प्रमुख शचीन्द्र किशोर लाभले दुईदिने सम्मेलनको समीक्षा गर्दै यसको महत्त्वबारे समापन मन्तव्य राखेका थिए।

सो अवसरमा सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने कार्यसमिति तथा विभिन्न उपसमितिका सदस्यहरू र स्वयंसेवकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। प्रमुख अतिथि उपकुलपति प्रा. डा. थापालाई पनि पश्चिमाञ्चल क्याम्पसका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

यसअघि मंसिर ११ गते इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले प्रमुख अतिथिका रूपमा सम्मेलनको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै डीन बज्राचार्यले आईओई ग्राजुएट कन्फरेन्सको विकासक्रम र महत्त्वबारे चर्चा गर्नुका साथै यस्ता प्राज्ञिक सम्मेलन आयोजना गर्न पश्चिमाञ्चल क्याम्पसले आफ्नो संस्थागत क्षमता सुदृढ गर्दै आएको विषयमा प्रकाश पारेका थिए। समारोहमा पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख  डा. गोपालप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने सम्मेलनका संयोजक राजेश भट्टराईले सम्मेलनका उद्देश्य तथा मुख्य विशेषताबारे जानकारी दिएका थिए।

उद्घाटन समारोहमा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्रा. डा. विनोद भट्टराई, पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. निर्मला जमरकट्टेल तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर नवराज शर्माले अतिथिका रूपमा मन्तव्य राखेका थिए।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. हरिप्रसाद पाठक, IOF पोखरा क्याम्पसका क्याम्पस प्रमुख डा. नारायणप्रसाद गौतम, पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख शारदा शर्मा तथा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत CIMDU का प्रमुख डा. दुर्गा बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको समापन मन्तव्य सहायक क्याम्पस प्रमुख उपप्राध्यापक हरि केसीले राखेका थिए।

सम्मेलनको उद्घाटन सत्रमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, युनिभर्सिटी अफ नेपालका रजिस्ट्रार प्रा. डा. सूर्यराज आचार्य तथा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडीन प्रा. डा. शशिधरराम जोशीले Keynote Speaker का रूपमा प्रस्तुति दिएका थिए।

सम्मेलनको उद्घाटन तथा समापन दुवै समारोहको सञ्चालन पश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापक शिव त्रिपाठीले गरेका थिए। इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा अनुसन्धान संस्कृति प्रवर्द्धन गर्ने, नवीन ज्ञान तथा प्रविधिको आदानप्रदान गर्ने र अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा प्राविधिक विज्ञहरूबीच सहकार्य विस्तार गर्ने दृष्टिले आईओई ग्राजुएट कन्फरेन्सलाई महत्त्वपूर्ण प्राज्ञिक मञ्चका रूपमा लिइन्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...