पोखरामा गण्डकीको समृद्धिका लागि पर्यटन र प्रविधिमा केन्द्रित गहन बहस

पोखरा, माघ १५ – गण्डकी प्रदेशको पर्यटन र प्रविधि क्षेत्रको समृद्धिमा नयाँ आयाम थप्ने उद्देश्यले ‘गण्डकीको समुन्नति: पर्यटन र प्रविधि’ विषयक विशेष बहस कार्यक्रम बुधबार पोखरामा आयोजना हुँदैछ। क्यान फेडेरेसन कास्की को आयोजनामा हुने यो कार्यक्रम ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आई.टी. महोत्सव २०८१ को एक महत्वपूर्ण भाग भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा नीति तथा योजना आयोग, गण्डकी प्रदेशका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा,GPAST का पूर्व कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी र बाराही हस्पिटालिटी ग्रुप प्रा.लि.का अध्यक्ष हरि पौडेल लगायतका ख्यातिप्राप्त विज्ञहरूले आफ्नो विचार राख्नेछन्। उनीहरूले गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनमा प्रविधिको भूमिका, डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृतिको विकास र नवीनतम प्रविधि (इनोभेसन) को सम्भावनाहरूबारे छलफल गर्नेछन्।

क्यान फेडेरेसन कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरका अनुसार, गण्डकी प्रदेशको दिगो विकासका लागि पर्यटन र प्रविधि एकअर्काका परिपूरक हुन्। यस कार्यक्रममार्फत यी दुई क्षेत्रबीचको अन्तरसम्बन्धलाई अझ प्रस्ट पार्दै, प्रदेशको आर्थिक समृद्धिमा प्रविधिको भूमिकाबारे महत्वपूर्ण छलफल गरिनेछ। उनले यो बहसबाट प्राप्त सुझाव तथा निष्कर्षहरू प्रदेश सरकारलाई नीति निर्माणमा मार्गदर्शन गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे।

सञ्चारकर्मी रघुनाथ वाग्लेको सहजीकरणमा सञ्चालन हुने यो सेमिनारले नीति निर्माता, उद्योगी, प्रविधि विशेषज्ञ र पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याएर अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ। यस कार्यक्रममार्फत गण्डकी प्रदेशको दिगो विकासका लागि पर्यटन र प्रविधिको सशक्त सम्मिश्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...