दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने गण्डकीका खेलाडीलाई बिदाइ

पोखरा । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र मन्त्रालयका सचिव शेषनारायण पौडेलले खेलाडीलाई टीका लगाउँदै फूल र जुस दिएर बिदाइ गरेका हुन्।

खेलाडीको बिदाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको गौरव र प्रतिष्ठा बढाउने गरी उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन खेलाडीलाई आग्रह गरे। उनले प्रतियोगितामा पदक जितेर प्रदेशको नाम उच्च राख्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा पनि गरे।

खेलाडीको मेहनत, लगनशीलता र क्षमताको सम्मान गर्दै उनीहरूको हौसला बढाउन पुरस्कारको व्यवस्था गरिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी सफलता हासिल गर्न खेलाडीलाई शुभकामना दिए।

 

त्यसैगरी, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले खेलाडीहरू प्रदेशको सान र गौरव भएको बताउँदै आत्मविश्वास र उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन आग्रह गरिन्।

 

उनले गण्डकी प्रदेशको खेलकुद स्वाभिमान, सामूहिक सङ्कल्प र विजयप्रतिको अटुट विश्वासको प्रतीक भएको उल्लेख गरिन्। गण्डकीका खेलाडी पदकका दाबेदार मात्र नभई प्रदेशको प्रतिष्ठा र राष्ट्रको गौरव बोकेका ऊर्जावान् प्रतिनिधि भएको उनको भनाइ थियो।

 

मन्त्री गुरुङले खेलाडीका प्रत्येक प्रहारमा आत्मविश्वास, प्रत्येक दौडमा सङ्कल्प र हरेक प्रतिस्पर्धामा विजयको भावना हुनुपर्ने बताउँदै कर्णालीसम्मको यात्रा सुरक्षित, सहज र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरिन्।

 

उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदकसहित विजयी भएर फर्कन खेलाडीलाई आग्रह गर्दै भनिन्, “उत्कृष्टताका लागि खेल्नुहोस्, विजयका लागि प्रतिस्पर्धा गर्नुहोस् र गण्डकी प्रदेशको शिर अझ उँचो बनाएर फर्कनुहोस्।”

 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...