पोखरामा किङ्स कप भलिबल सुरु गण्डकी, एपिएफ र आयोजकको विजयी सुरुआत

पोखरा, ९ मंसिर ।युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि पोखरामा ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ ।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेको छ ।


पहिलो खेलमा घरेलु टोली गण्डकी प्रदेशले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–१७ ले जितेको गण्डकीले तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै पतियोगितामा गण्डकीले लिग तालिकामा ३ अंक जाडेको हो ।

दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २९–२७ जित्दा दोस्रो सेट २५–१८ ले पुलिसलाई सुम्पिएको थियो । एपिएफले तेस्रो सेट २५–१८ ले जित्यो भने चौथो सेट २५–२२ ले पुलिसले जित्दै खेलमा पुनारागमन गरेको थियो । पाचौं सेट १५–१३ ले जित्दै प्रतियोगितामा एपिएफले लिग तालिकामा २ अंक जाडेको हो । हार ब्यहोरेको पुलिसले १ अंक जोडेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० सेटमा हराउँदै लिग तालिकामा ३ अंक जोडेको हो ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारको प्रयाससँगै निजी क्षेत्र, क्लब, संघसंस्था र खेलप्रेमी समुदायको सक्रियता पनि उत्तिकै महत्वपूर्ण हुने बताइन् ।

 

‘युनाइटेड किङ्स क्लबले पहिलो पटक यति महत्वपूर्ण राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको साहस, सोच र पहल वास्तवमै प्रशंसनीय छ,’ उनले भनीन्, ‘किङ्स क्लबले आगामी दिनमा अझ धेरै प्रतियोगिता आयोजना गरोस्, सयौँ खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरोस् र गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्ने एउटा उर्वर थलोका रूपमा आफूलाई स्थापित गर्न सफल होस् ।’

उनले गण्डकी प्रदेशमा भलिबलप्रतिको आकर्षण, खेलाडीहरूको प्रतिभा र खेलप्रतिको समर्पण प्रशंसनीय रहेका बताइन् । ‘खेलाडीहरुको प्रतिभाको सम्मान गर्दै खेलकुदलाई सम्मानित पेसा र भविष्य निर्माणको माध्यम बनाउनुपर्छ,’ उनले भनीन्, ‘यसका लागि नियमित प्रतियोगिता, क्लबस्तरीय लिग र खेलाडीको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ ।’

 

सकारात्मक, रचनात्मक र दूरगामी महत्व राख्ने खेलकुदका गतिविधिहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकार सधैँ सकारात्मक रहेको उनले बताइन् । यसमा आवश्यक सहकार्य, समन्वय र सम्भव भएसम्मको संस्थागत सहयोगका लागि मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा फेवा मल्टिप्रोडक्ट पोखराका प्रमुख चन्द्रकान्त बरालले खेलकुदले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने भएकाले प्रतियोगितामा आफ्नो संस्था जोडिएको बताए । आगामी दिनमा पनि समझदारीका आधारमा यसलाई निरन्तरता दिंदै जाने उनको भनाइ थियो ।

कार्यक्रम संयोजक थमन गुरुङले राष्ट्रिय स्तरमा पुरुष भलिबल खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा युनाइटेड किङ्स क्लब पोखराका अध्यक्ष अशोक गुरुङ र सचिव अशोक थापाले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाएका थिए ।

प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल किङ्स क्लब पोखरा र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । दोस्रो खेलमा कोशी प्रदेश र नेपाल पुलिस क्लब, तेस्रो खेलमा एपिएफ र गण्डकी प्रदेश खेल्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...