पोखरामा दाइँ महोत्सव : कृषि र पर्यटन प्रवर्द्धनमा जोड गोरुले दाइँ गर्ने परम्परा संरक्षणसँगै विदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको अनुभब

पोखरा, १२ मंसिर । खेतकाे बिचमा धानकाे कुनियाे ।नजिकै दाइँका लागि तयार पारिएकाे स्थान । लहरै थुपारिएको धानका बिटा अनि धान चुटि रहेकाे । बीचमा गोलाकार रूपमा घुमिरहेका गोरु, गोरुलाई निर्देशन दिँदै दाइँमा व्यस्त किसान र पृष्ठभूमिमा गुञ्जिरहेको पञ्चेबाजा त्हीबाट दन्ते लहरै मुस्कुराएका हिमालकाे दृश्य । कुनै समय नेपाली गाउँघरमा धान भित्र्याउने यामको अभिन्न दृश्य मानिने यो परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग बढेसँगै ओझेलमा पर्दै गएको यही मौलिक कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयासस्वरूप पोखरामा तेस्रो दाइँ महोत्सव आयोजना गरिएको छ।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा शनिबार पोखरा–२९, नौबिसे सिसुवामा ‘तेस्रो दाइँ महोत्सव–२०८३’ सम्पन्न भएको हो। कृषि र पर्यटनलाई एकै ठाउँमा जोड्दै मौलिक कृषि प्रणाली, ग्रामीण जीवनशैली तथा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा परम्परागत शैलीमा गोरुको सहायताले धान झार्ने दाइँ लगाइएको थियो। धान चुट्ने परम्परागत विधि प्रत्यक्ष अवलोकन गर्न पाउँदा स्वदेशी तथा विदेशी पर्यटक उत्साहित देखिन्थे। विशेषगरी विदेशी पर्यटकहरू नेपाली ग्रामीण जीवनशैली र कृषि संस्कृतिमा रमाएका थिए। उनीहरू पञ्चेबाजाको तालमा नाचे, सेलरोटी र स्थानीय अनदिकाे चामलबाट  तयार पारिएको चाम्रे चाखे। नेपाली कला, संस्कृति, परम्परा र स्थानीयवासीको आतिथ्यले उनीहरूलाई थप आकर्षित गरेको थियो।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उल्लेख्य सहभागिता थियो। पुस्तकमा पढ्दै र सुन्दै आएको परम्परागत कृषि प्रणालीलाई प्रत्यक्ष देख्न पाउँदा विद्यार्थीहरू खुसी देखिन्थे। आधुनिक प्रविधिका कारण हराउँदै गएको गोरुले दाइँ गर्ने चलन, किसानको मेहनत र धान भित्र्याउने पुरानो विधिबारे बुझ्ने अवसरसमेत उनीहरूले पाए।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्पराको संरक्षण र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए। परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषि, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके समृद्धिको नयाँ आधार तयार हुने बताए। पोखरामा विभिन्न प्रकृतिका कार्यक्रम र महोत्सव आयोजना हुँदा पर्यटकको आकर्षण बढ्ने उल्लेख गर्दै उनले जति धेरै कार्यक्रम आयोजना गर्न सकियो, त्यति नै पर्यटन गतिविधि विस्तार हुने धारणा राखे।

मौलिक तथा परम्परागत दाइँको संरक्षण गर्दै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। उनका अनुसार महोत्सवमा चार हल गोरुको प्रयोग गरी दाइँ लगाइएको थियो। १७ जना दँदेराको सहभागितामा गोरु धपाउने, दाइँ लगाउने, पराल बाँध्ने र परालको कुनियो लगाउनेलगायतका परम्परागत गतिविधि प्रदर्शन गरिएको थियो।

महोत्सवलाई थप मौलिक बनाउन खानपानको व्यवस्था पनि परम्परागत शैलीमै गरिएको थियो। सहभागीलाई परालमाथि तथा बारीको पाटामा बसेर स्थानीय परिकार खाने व्यवस्था मिलाइएको थियो। यसले गाउँघरको पुरानो रहनसहन र सामूहिक जीवनशैलीको झल्को दिएको थियो। सोही अवसरमा उत्कृष्ट धान उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रम संयोजक हरिराम अधिकारीका अनुसार महोत्सवमा ५० जनाभन्दा बढी विदेशी पर्यटक सहभागी भएका थिए। विदेशी पर्यटकसँगै विभिन्न विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको उनले बताए।

 

कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले दाइँ लगाउने, गुन्द्री बुन्ने र लठ्ठो तान्नेलगायतका प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुका साथै सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पनि सम्मान गर्ने व्यवस्था मिलाइएको संयोजक अधिकारीले जानकारी दिए।

 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दाइँ महोत्सवले लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

 

त्यस्तै, महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महोत्सवले परम्परागत कृषि प्रणालीको महत्त्व उजागर गर्नुका साथै किसानलाई गोरुपालनतर्फ प्रोत्साहित गर्ने बताए।

 

आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा गाउँघरमा सीमित हुँदै गएको गोरुले दाइँ गर्ने परम्परालाई महोत्सवका रूपमा पुनर्जीवित गर्ने प्रयास पोखराको पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण देखिएको छ। यस्ता कार्यक्रमले पर्यटकलाई हिमाल, ताल र प्राकृतिक सौन्दर्यसँगै नेपाली मौलिक जीवनशैलीको अनुभव गराउने अवसर प्रदान गर्छन्।

 

पर्यटन भनेको प्राकृतिक दृश्यको अवलोकन मात्र होइन, स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभूति पनि हो भन्ने सन्देश तेस्रो दाइँ महोत्सवले दिएको छ। खेतको दाइँदेखि पञ्चेबाजाको धुन र स्थानीय परिकारसम्म समेटिएको यो महोत्सवले पोखराको पर्यटनलाई गाउँ, कृषि र संस्कृतिसँग जोड्ने सम्भावनालाई थप उजागर गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...