स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सङ्गठन विभाग सदस्य तथा गण्डकी प्रदेशका पूर्व इन्चार्ज झविलाल डुम्रेले आगामी निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ ।
लामो समयदेखि राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका डुम्रेले गाउँ-बस्तीका आमाबुबा, युवा र दिदीबहिनीहरूको तीव्र चाहना र आग्रहलाई कदर गर्दै आफूले चुनावी मैदानमा उत्रिने निर्णय गरेको बताउनुभएको हो । उम्मेदवारी घोषणा गर्दै डुम्रेले भन्नुभयो, “अहिलेसम्म म राजनीतिलाई टाढैबाट नियाल्दै आएको थिएँ, तर जब गाउँका आमाबुबाहरूले काम गर्ने मान्छे खोज्नुभयो र युवाहरूले आफ्नो भविष्यप्रति चिन्ता व्यक्त गर्नुभयो, तब मैले चुनावी मैदानमा आउने अठोट गरें । हामीलाई अब बोल्ने मात्र होइन, जनताको कुरा सुन्ने र साथ दिने प्रतिनिधि चाहिएको छ ।”
को हुन् झविलाल डुम्रे?
स्याङ्जाको वालिङ-१४ स्थायी ठेगाना भएका डुम्रे रास्वपाको स्थापना कालदेखि नै पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ। पोखरालाई कर्मथलो बनाएर एक सफल व्यवसायीका रूपमा पहिचान बनाउनुभएका उहाँले ग्रामीण विकास (Rural Development) विषयमा स्नातकोत्तर गर्नुभएको छ । रास्वपाको गण्डकी प्रदेश विस्तारमा अतुलनीय भूमिका खेल्नुभएका डुम्रे हाल केन्द्रीय सङ्गठन विभागमा रहेर काम गरिरहनुभएको छ।

डुम्रेले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि नभई स्याङ्जा-२ लाई “उन्नत, समुन्नत र आत्मनिर्भर” बनाउनका लागि भएको स्पष्ट पार्नुभएको छ। उहाँका मुख्य प्राथमिकताहरू यस प्रकार छन्:
पूर्वाधार विकास: सिद्धार्थ राजमार्ग र ग्रामीण सडक सञ्जालको सुदृढीकरण ।
स्थानीय सम्भावना: आँधिखोला ड्याम, पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना ।
आधारभूत सेवा: गुणस्तरीय शिक्षा, स्वास्थ्य र न्यायपूर्ण खानेपानी तथा बिजुली वितरण ।
कृषि: किसानको पसिनाको उचित मूल्य र सम्मान ।
आफ्नो प्रतिबद्धता व्यक्त गर्ने क्रममा डुम्रेले स्याङ्जाका विभिन्न स्थानसँगको आत्मिक सम्बन्धलाई यसरी जोड्नुभयो:
“भिरकोटको ढुङ्गामय बाटोले मलाई धैर्य सिकाएको छ, वालिङको विविधताले सहिष्णुता, गल्याङको सम्भावनाले आशा, कालीगण्डकीको प्रवाहले ऊर्जा र चापाकोटको माटोले मलाई आत्मीयता दिएको छ । यही शक्ति लिएर म स्याङ्जाको आवाज केन्द्रसम्म निर्भीक रूपमा पुर्याउने जनसेवक बन्नेछु ।”
रास्वपाभित्र बलियो पकड भएका र बौद्धिक छविका रूपमा चिनिने डुम्रे, सँगसँगै उनी लायन्स क्लब, युवा क्लबहरुमा आवद्ध भई सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् । जनताले बोल्नेमात्रै होइन, काम गर्ने मान्छे खोजेको उल्लेख गर्दै उनी नयाँ पुस्ताको इमानदार, उत्तरदायी र काम गर्ने नेतृत्व स्याङ्जा २ लाई दिने प्रतिवद्धता व्यक्त गर्छन् । अघिल्लो चुनावमा रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका उनी सभासद भने बन्न नपाएका अहिले उनकाे उम्मेदवारी घोषणासँगै स्याङ्जा-२ को राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। “तपाईंहरूको हातले उठाएको घण्टी नै मेरो मार्गदर्शक हो,” भन्दै आम मतदातासँग आशीर्वाद र साथको अपील गर्नुभएको छ।